नागरिकता विधेक राष्ट्रघाती : चित्रबहादुर केसी



बुटवल। 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेक  पास गरेर सांसदले राष्ट्रघाती काम गरेको बताउनु भएको छ । विदेशीलाई नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उहाँले बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा शुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै  वास्तविक नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने र गैर नेपालीलाई नागरिकता दिनै नहुने बताउनु भयो ।अहिले नागरिकता विधेयकका कारण भविष्यमा हामी नेपाली अल्पमतमा पर्ने सम्भावना रहेको बताउँदै यसको असर केही समयपछि देखिने बताउनु भयो ।

संसदबाट नागरिकता विदेश पास भएपछि नेपालको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको बताउँदै सत्तामा बसेर हालीमुहाली गरेर पुस्तौँ पुस्तालाई सम्पत्ति आर्जन गर्न विदेशीको इसारामा नागरिकता विधेयक सदनबाट पास भएको केसीको आरोप रहेको छ ।

संघीयता,नागरिकता विधेयक, एमसीसी, महँगी, भ्रष्टाचार, विभिन्न प्रकारका हिंसा र अपराधका विरुद्ध राष्ट्रिय जनमोर्चाले निरन्तर संघर्ष गर्दै आएको र सम्झौताहीन संघर्ष गर्दे जाने अध्यक्ष केसीको भनाइ छ । संघीयताका कारण मुलुक टाट पल्टिएको अवस्थामा एमसीसी, राष्ट्रघाती नागरिकता विधेयकले देश झनै संकटमा परेको बताउनु भयो।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केसीले सत्तामा रहेका आफूलाई ठूला भन्ने दलका नेताहरूले राजनीतिलाई व्यवसाय बनाएर देशलाई कंगाल बनाएको आरोप लगाउनु भयो ।

पार्टीको अनुशासनमा रहेर जनताको हितमा जनपक्षीय काम गरेर व्यवहारमा देखाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । स्थानीय तहहरुलाई भ्रष्टाचारमुक्त बनाउनका लागि निष्ठापूर्वक कामगर्न अध्यक्ष केसीले आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई सुझाव दिनु भयो ।

प्रदेश सांसद तारा जीसीले पार्टीको अनुशासन, नीति, सिद्धान्तलाई पूर्णपालना गरेर जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको सञ्चालनमा कार्यक्रम भएको थियो । तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा पार्टी नेतृत्व, स्थानीय तह विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

तीन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित २ सय २२ जना जनप्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्