ब्राजिल कोपाको फाइनलमा



लन्डन, (एजेन्सी) । 

ब्राजिल कोपा अमेरिका फेमेनिना २०२२ को फाइनलमा प्रवेश गरेको छ । सर्वाधिक सातपटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको हो । पाराग्वेलाई २–० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो ।

कोलम्बियास्थित स्टेडियो अलफन्सो लोपेजमा बुधबार बिहान भएको सेमिफाइनलमा ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।खेलको १६औं मिनेटमा एरी बोर्गेसको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो ।

उनले वियट्रिज जेनराटो जोआओको पासमा गोल गर्न सफल भएकी थिइन् । २८औं मिनेटमा वियट्रिज जेनराटो जोआओले एन्टोनियाको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारिन् । दोस्रो हाफमा पनि ब्राजिलले पाराग्वेलाई दवावमा राखे पनि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो । योसँगै ब्राजिल सबै ९ संस्करणको फाइनलमा पुग्न सफल भएको छ ।

अब ब्राजिलले उपाधिका लागि घरेलु टोली कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । दुईपटक फाइनलमा पुगेको कोलम्वियाले एकपटकको च्याम्पियन अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल ३० जुलाईमा हुनेछ । सन् १९९१ देखि ब्राजिलबाट सुरु भएको कोपा अमेरिका फेमेनिनाको नवौं संस्करण जारी रहँदा ब्राजिलले सर्वाधिक सातपटक उपाधि जितेको छ । ब्राजिल २००६ मा अर्जेन्टिनासँग २–० ले पराजित हुँदै पहिलो पटक उपाधिबाट विमुख बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्