इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको फाइनलमा



लन्डन, (एजेन्सी) । 

महिला युरो च्याम्पियनशिप २०२२ का आयोजक इंग्ल्याण्ड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।स्विडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा स्विडेनको चुनौतीलाई ४–० गोलअन्तरले पन्छयाउंदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको सेमिफाइनलमा इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले गोल गरिन् । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा तीन गोल थपेको थियो । एकपक्षीय बनेको खेलमा इंग्ल्यान्डले सुरुवाती गोलको लागि ३४औं मिनेटसम्म कुर्नुपरेको थियो । शीर्ष गोलकर्ताको दौडमा रहेकी बथ मिडले लुसी ब्रन्जको पासमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । उनले यस युरोमा ६ गोल गरिसकेकी छिन् । इंग्ल्यान्डको दोस्रो हाफको शुरुमै अग्रता दोब्बर पा¥यो ।

खेलको ४८औं मिनेटमा लुसी ब्रन्जले बथ मिडको पासमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । ६८औं मिनेटमा एलेसिया रुसोले गोल गरेपछि इंग्ल्यान्ड सहज जिततर्फ अग्रसर बन्यो । ७६औं मिनेटमा फ्रान किर्विले बथ मिडकै पासमा गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जितसहित फाइनलमा पु¥याइन् ।

महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो । अब इंग्ल्यान्डले उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग साउन १५ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्