यो प्रायोजितरूपमा चलाएको प्रपोगान्डा हो : गौरव



काठमाडौं । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको बैठक बस्न नसक्नु, नवीन पाँडेको नियुक्ति जस्ता विषयले एन्फा अहिले चर्चाको विषय भइरहेको छ । अझ यो नयाँ कार्यसमिति तीन गुटमा अल्मलिएको भनेर पनि चित्रित गर्न थालेको छ ।

यसमा वर्तमान अध्यक्ष पंकज नेम्वाङ तथा दुई पूर्वअध्यक्ष गणेश थापा र कर्मा छिरिङ शेर्पाका व्यक्ति कार्यसमितिमा रहेका भन्ने रहेको छ । यसको बावजुद यो नयाँ पदाधिकारीले फुटबलको लागि राम्रो काम गर्नेछन् भन्ने विश्वास पनि छ ।तर, अहिले फेरि एक विषयले एन्फा चर्चित बनेको छ । यो कुरा एन्फा अध्यक्ष पूर्वअध्यक्ष थापाका छोरा गौरव थापाबारे हो । गौरवले अहिले मिडियामा आइरहेको कुरामा आपूmले प्रष्ट गर्नु पर्ने अवस्था आएको बताएका छन् । यसैले पनि उनले यसरी आपूmलाई विवादमा तानिनु सही नभएको पनि बताए ।

उनले बुधबार एक विज्ञप्तिमार्फत् उक्त मिथ्या कुरालाई स्पष्ट गरेका छन् ।गौरवलाई एन्फामा फिट गर्न लागेको भनेर भ्रामक समाचार आइरहेकोले उनले बताए कि यो गलत समाचार हो । उनले बताए कि यो प्रायोजितरूपमा चलाएको प्रपोगान्डाबाहेक अरु होइन । उनलाई एन्फामा नियुक्त गर्ने विषय लिएर फिफा र एएफसी सकारात्मक रहेको उनले स्पष्ट पारेका छन् । उनले उल्लेख गरे—वर्तमान अध्यक्ष र महासचिवले यसबारेमा फिफा र एएफसीलाई बताइसकेको र उताबाट पनि कुनै समस्या नरहेको सकारात्मक कुरा आएको छ । महासचिवलाई त फोन, मेसेज र प्रत्यक्ष भेटघाटमा समेत यो विषयमा प्रष्ट पारिसकेको छ ।

गौरवले सन् २०१३ देखि २०१८ को बीचमा पटक–पटक एन्फामा काम गरिसकेका छन् । उनले नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्ष हुँदा पनि अन्तर्राष्ट्रिय सम्बन्धमा काम गरिसकेका छन् । त्यो समयमा उनले फिफा र एएफसीका म्याच कमिस्नरको रूपमा काम गरेका थिए । उनले बताए—त्यही समयमा मैले एएफसी फुटबल एडमिनिस्ट्रेसन सर्टिफिकेट कोर्स गरेको हुँ । यो कोर्स एएफसीले विशेषगरी सदस्य संस्थामा भविष्यमा व्यवस्थापनको सिनियर पदमा रहेर काम गर्न सक्षम जनशक्ति उत्पादनको उद्देश्यसहित तयार गरेको हुँ ।

त्यसो त शेर्पा एन्फा अध्यक्ष हुँदा पनि गौरव एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पदमै थिए । उनले नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई असहज हुन सक्ने ठानेर चुनावको भोलिपल्टै राजीनामा गरेको पनि बताए । उनले बताए—अहिले जुन कुरा आइरहेको छ यो सबै हावादारी कुरा हो । यो कसैको व्यक्तित्वमाथि हमला गर्ने खालको छ । अहिले स्वार्थी मानिसहरूले स्थापित गर्न खोजेको विषयमा न तर्क छ न सत्यता । फिफा र एएफसीलाई अमान्य हुने गरी मैले एन्फामा कुनै पनि भुमिका चाहेको पनि छैन । मैले कहिल्यै पनि एन्फामा कुनै पदका लागि कसैसँग अनुरोध पनि गरेको छैन ।

गौरवले वर्तमान अध्यक्ष र महासचिवले नै सहयोगका लागि उनको नाम प्रस्ताव गरेको पनि बताए । उनीहरुसँगै कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग उनको विषयमा छलफल भएको र बजारमा प्रचार गरिएजस्तै कुनै समस्या नरहेको पनि उनले बताए । उनले नेपाली फुटबल तहसनहस हुन चाहिरहेकाहरूले यस्तो हल्ला फिजाउने गरेको पनि बताए । उनले बताए-यो दुर्भाग्यपूर्ण हो कि केही समूह नेपाली फुटबलको विनास होस् भन्ने चाहना राखिरहेको छ ।

अझ त्यसमा मेरो नामसमेत जोडिनु झनै आश्चर्यजनक र दुःखद हो । यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संलग्नता थिएन, आज पनि छैन र भविष्यमा पनि हुने छैन । म नेपाली फुटबलका लागि योगदान दिन सँधै तयार छु पनि ।

प्रतिक्रिया दिनुहोस्