राजनीतिको दुरुपयोग



राजनीति शब्दसँग अपरिचित कोही छैन, तर जति यो शब्द व्यापक छ त्यति प्रिय भने बन्नसकेको देखिंदैन । राजनीतिले देश र जनताको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले यसलाई आम नागरिकले चिनेका हुन् तर राजनीति गर्ने व्यक्ति र दलहरु अपेक्षित रुपमा इमान्दार हुन नसक्दा यसले सम्मान भने पाउनसकेको छैन ।

कुशल राजनीतिज्ञले संसारका थुप्रै देशलाई समुन्नत बनाएका छन् । आज ती देशले संसारलाई नै आफ्नो कावुमा राख्न खोजेको देखिन्छ । कतिपय देशका राजनीतिज्ञलाई त्यहाँंका जनताले भगवान्जस्तै मानेको पनि कसैबाट लुकेको छैन । जो जनताका पक्षमा लामो समयदेखि काम गर्दैआएका पनि छन्, उनीहरुको सम्मान स्वाभाविक पनि छ । तर नेपालमा पछिल्लो समय राजनीतिक शब्दप्रति नै वितृष्णा बढ्दैगएको छ । दलका नेतालाई जनताले खासै महत्व दिएको देखिदैन ।

तर पनि नेताहरु भने राजनीति गर्न छोडेका छैनन् । राजनीतिज्ञ र राजनीतिप्रति युवा वर्गमा बढ्दै गएको वितृष्णाले कस्तो परिणाम ल्याउला नेताहरुले सोचेको देखिदैन । उनीहरुको एउटै आलाप छ– अब हामी देश निर्माण गर्छौं । ‘अब’ मा निकै जोड दिनेगरेको देखिन्छ । किनभने विगत हेर्नेहो भने जनताले उनीहरुलाई पत्याउने अवस्था छैन । अहिले विभिन्न कोणबाट यो प्रश्न उठ्ने गरेको छ । दलीय ब्यवस्थाले मुलुकलाई थिलथिलो बनायो भन्दै अहिलेको शासन प्रणालीमाथि नै पश्न उठ्न थालेको छ । अहिलेको शासन प्रणाली बेठिक कि प्रणाली सञ्चालन गर्ने नेता बेठिक ? प्रायः कुनै पनि देशको शासन प्रणाली बेठिक देखिन्न, प्रणाली सञ्चालन गर्ने नेताहरुको शैलीले शासन प्रणालीको बारेमा प्रश्न उठ्ने गरेको छ । सुध्रनुपर्ने शासन प्रणाली होइन, शासकहरु हुन् ।

तर यस विषयमा कतैबाट पनि गम्भीर रुपमा छलफल भएको पाइँदैन । चोक–चोक, चिया पसल, पसलमा आज राजनीतिज्ञप्रति वितृष्णा फैलने खालका गफ सुन्न पाइन्छ । तर पनि नेतालाई गाली गरेपनि उनीहरु आफूले समातेको बाटो छोड्न तयार नहुँदा मुलुक झन्–झन् कमजोर बन्दैगएको छ भने गरिखाने युवा शक्ति पलायन हुने क्रम पनि तीव्र छ । तर नेताहरु भने यो मुलुक बनाउन आफूले प्रयास गरेको तर फलानाले नदिएको भनेर पानी माथिको ओभानो बनिरहेका छन् । यही प्रवृत्तिका कारण मुलक दिशाहीन हुदैगएको छ ।

व्याप्त बेरोजगारी, भ्रष्टाचार र आफन्त बाहेक अरुले अवसर नपाउने प्रवृत्तिका कारण मुलुकका नागरिकमा अनिश्चयको बादल मडारिंदो अवस्थामा छ । यसले गर्दा मुलुकले कुन बाटो समाउने हो, त्यो पनि यसै भन्न सकिने अवस्था छैन । अहिलेका मुलुकका राजनीतिज्ञहरुको ताल हेर्नेहो भने उनीहरु पनि सुध्रने अवस्था देखिदैन । उनीहरुको व्यक्तिगत स्वार्थका कारण मुलुक दिशाहीन हुँदैगएको छ । दलीय व्यवस्थाप्रति नै आक्रोश बढ्दो अवस्थामा छ । अब राजनीतज्ञहरु सुध्रिएनन् भने अर्को जनआक्रोशले राजनतिज्ञलाई कहाँं प-याउला सोच्ने बेला आइसकेको छ । यसतर्फ राजनीति गर्नेहरुको ध्यान जान सकेन भने उनीहरु त अतीतको गर्भमा हराउनेछन् नै, संघीय लोकतान्त्रिक गणतन्त्र पनि थेगिने छैन ।

प्रतिक्रिया दिनुहोस्