लुम्बिनीको लोगो सार्वजनिक



काठमाडौं ।

नेपाल टि२० लिग फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले सोमबार लोगो सार्वजनिक गरेको छ । लुम्बिनी अल स्टार्सले अमेरिकादेखि पर्यटक, निष्ठा र सम्मान बताउँदै लोगो सार्वजनिक गरेको हो । लोगोमा बुद्धको स्तुपा रहेको छ । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सले किनेको हो । लुम्बिनी अल स्टार्सको सहमालिक तथा सिइओ सञ्जय शर्मा र सहमालिक आशिक लामा छन् । पूर्व क्रिकेटर बरदान चालिसे र उत्सव सिग्देल पनि यस टोलीमा छन् ।

अमेरिकामा अवस्थित नेपाली अल स्टार्सले लुम्बिनी अल स्टार्सको स्वामित्व लिएको थियो । नेपाली टोली गत महिना अमेरिका भ्रमणमा जाँदा नेपाली अल स्टार्सले स्थानीय प्रशिक्षण व्यवस्थापन तथा अभ्यास खेल मिलाएको थियो । लुम्बिनी अल स्टार्सलाई धेरैले अमेरिकामा रहेका खेलाडीलाई बढी मौका दिने अनुमान गरेका छन् ।सहमालिक तथा सिईओ सञ्जयले अमेरिका स्थापित भएको हुँदा सहज भएको बताए । ’हामीले अमेरिकामा माइनर लिग खेलेका छौं । हाम्रो बेसिक पहिला देखि नै बनाएका थियौं । क्यानसँग छलफल गरेर लिने निर्णय लिएका हौं’,–सञ्जयले भने । अर्का सहमालिक आशिक लामाले तयारी पाँचै टोलीसँग सल्लाह गरेर अघि बढेको बताए ।

क्यानले ६ मध्य चार फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । काठमाडौंको प्रतिनिधित्व गर्ने टोली कान्तिपुर क्यापिटलको स्वामित्व कान्तिपुर मिडिया ग्रुपको हुनेछ । भारतको गोल्ड स्पोर्ट्स प्रालिले जनकपुरको प्रतिनिधित्व गर्दै जनकपुर रोयल्स घोषणा गरेको छ । त्यस्तै, विराटनगर सुपरकिंग्सलाई भारतको डायमन्ड डिजीक्यापले खरिद गरेको छ ।

पोखरा र फार वेस्टर्नको टोलीको स्वामित्वबारे घोषणा गर्न बाँकी छ । नेपाल टि२० लिग आगामी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवे अनुसार डबल राउन्ड रोबिनको आधारमा हुनेछ । प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । एक फ्रेन्चाइज टोलीमा १६ खेलाडी हुने बताइएको छ । जसमा ११ नेपाली र ५ विदेशी खेलाडी हुनेछन् । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्