हेटौंडाका ३ स्थानमा खुला व्यायामशाला



हेटौंडा ।

हेटौंडा–४ स्थित हुप्रचौरमा खुला व्यायामशाला निर्माण भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् आयुर्वेद तथा चिकित्सा वैकल्पिक महाशाखाले निर्माण गरेको खुला व्यायामशालाको शुक्रबार निर्माण सम्पन्न भएको छ ।

आयुर्वेद तथा चिकित्सा वैकल्पिक महाशाखाको ‘निरोगी नेपाल निर्माण अभियान’ अन्तर्गत् हेटौंडाको हुप्रचौरमा खुला व्यायामशाला निर्माण गरिएको हो । खुला व्यायामशालामा १५ प्रकारका जीम सामग्री जडान गरिएका छन् ।उपमहानगरपालिकाले तत्काल ३ ठाउँमा खुला व्यायामशाला निर्माण गर्न सिफारिस गरेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए । हेटौंडा–४ स्थित हुप्रचौर, हेटौंडा–१ स्थित राप्तिपुलनजिक र हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालानजिक खुला व्यायामशाला निर्माण गरिने भएको छ ।

व्यायामशालाका लागि उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको उनले जानकारी दिए । हुप्रचौरमा निर्माण गरिएको व्यायामशालामा एक सातापछि व्यायाम गर्न मिल्ने कामदार तारामान तामाङले जानकारी दिए । शनिबारबाट हेटौंडा–१ स्थित राप्ति पुलनजिक व्यायमशाला निर्माण शुरु भएको छ । व्यायामशाला निर्माणसँगै शारीरिक कसरतका लागि धेरै फाइदा हुने जनस्वास्थ्य निरीक्षक चौलागार्इंले बताए । ‘संसारमा नसर्ने रोगका कारण ६० प्रतिशत् मृत्यु हुने गरेको पाइन्छ । यसलाई व्यायाम गरेर घटाउन सकिन्छ,’ उनले भने–हाल मानिसहरुमा शारीरिक क्रियाशीलता कम भइरहेको छ । जसले विभिन्न रोग देखापर्न सक्छन् । रोग लाग्नबाट बच्न व्यायामशाला सहयोगी बन्नेछ ।

शारीरिक परिश्रम नगर्ने मानिसले विहान वा बेलुका अनुकूलताअनुसार व्यायमशालामा राखिएका सामग्रीबाट आफ्नो शरीरलाई चलायमान बनाउनसक्ने उनको भनाइ छ । व्यायाम गर्दा शरीरका अंगहरु चलायमान हुने, फूर्तिलो र निरोगी बन्ने चौलागाईंले बताए ।हेटौंडा उपमहानगरपालिका–२ का पनि सत्तारुढ गठबन्धनले प्रतिवद्धतापत्र सार्वजनिक गर्दा खेलाडी उत्पादन तथा तालिमका लागि उपयुक्त स्थान भेटिए खुला व्यायामशाला निर्माण गरिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्