नेपाली युवा टोलीको सानदार शुरुवात



काठमाडौं । 

नेपाली यू २० फुटबल टोलीले भारतमा सोमबारदेखि सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा सानदार शुरुवात गरेको छ । नेपाली टोलीले पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै प्रतियोगितामा विपक्षी टोलीलाई आफ्नो बलियो उपस्थित जनाएको पनि छ । भुवनेश्वरको कालिंका रंगशालामा भएको पहिलो खेलमा टोलीलाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मीले एक–एक गोल गरेका थिए । दीपेशले नेपालका लागि ४२ औं मिनेटमा रिबाउन्डमा प्राप्त बललाई गोलमा परिणत गरेका थिए ।

कप्तान आयुष घलानको फ्रिकिक प्रहारलाई माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्ड भएको बललाई दीपेशले खेर जान दिएका थिएनन् । डेनमार्कबाट छनोटमा भाग लिन स्वदेश फर्केका सुगमले ५८ औं मिनेटमा टोलीको दोस्रो गोल गरे । विपक्षी रक्षकहरुलाई छलाउँदै सुगमले उत्कृष्ट फिनिशिङ गरेका थिए । क्रिटिशले ६२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेर नेपालको जित सुनिश्चित गरिदिए । कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । परिवर्तित मनग्यले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीको जितलाई फराकिलो पारेका थिए ।

उनी ८३ औं मिनेटमा क्रितिशको ठाँउमा मैदानमा प्रवेश गरेका थिए । नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्