एन्जल्सको जितमा बेलको गोल



वासिंगटन, (एजेन्सी) । 

ग्यारेथ बेलको गोल सहयोगमा लस एन्जल्स फुटबल क्लबले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सहज जित दर्ता गरेको छ ।
घरेलु लिगको शीर्षस्थानमा रहेको लस एन्जल्सले स्पोर्टिङ कान्सास सिटीलाई २–० ले पराजित बेलले एक गोलको योगदान गरेको हो । लस एन्जल्सको जितमा बेलसँगै क्रिष्टियन एरानगोले पनि गोल गरेका थिए ।

चिल्ड्रेन्स मर्सी पार्क कान्सास सिटीमा आइतबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा लस एन्जल्सले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो ।

खेलको ५६औं मिनेटमा क्रिस्टियनले क्वाडवो ओपोकुको पासमा गोल गर्दै लस एन्जल्सलाई १–० को अग्रा दिलाएका थिए । खेलको ८२औं मिनेटमा सब्सिच्युट फरवार्ड बेलले गोल गर्दै लस एन्जल्सको जित पक्का गरे ।

६५औं मिनेटमा क्वाडवो ओपोकुको स्थानमा मैदान छिरेका बेलले क्रिस्टियनको पासमा गोल गर्न सफल भएका थिए । एमएलएसमा उनको यो पहिलो गोल हो । यो जितसँगै शीर्षस्थानमा रहेको लस एन्जल्सको २१ खेलबाट ४५ अंक पुगेको छ । लस एन्जल्सले दोस्रो स्थानको अस्टिन एफसीलाई चार अंकले पछि पारेको छ । पराजित स्पोर्टिङ कान्सास सिटी २३ खेलबाट २० अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्