चेल्सीको लज्जास्पद हार



लन्डन, (एजेन्सी) । 

प्री–सिजनको मैत्रीपूर्ण खेलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगका चिर प्रतिद्वन्द्वी आर्सेनलसँग लज्जास्पद हार बेहोरेको छ ।
चेल्सीले आर्सनलसँग ४–० फराकिलो गोलअन्तरको लज्जास्पद हार बेहोरेको हो । आर्सेनलको सानदार जितमा गाब्रियल जेसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट साम्वी लोकंगाले गोल गरेका थिए ।

अमेरिकामा आइतबार बिहान भएको खेलको १५औं मिनेटमा जेससको गोलबाट आर्सेनलले अग्रता लिएको थियो । उनले वान भर्सेस वानको स्थितिमा गोलरक्षक एडुआर्ड मेन्डीअघि बढेको अवस्थामा चिप प्रहारले पोस्टको दिशा लिएको थियो । त्यसपछि, खेलको ३६औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सेनलको अग्रता दोब्बर पारे ।

खेलको ६६औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सेनल सहज जिततर्फ अग्रसर भयो । सब्सिच्युट अल्बर्ट साम्वी लोकंगाले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै चेल्सीलाई फराकिलो हार चखाए । अल्बर्ट साम्वी लोकंगा ७८औं मिनेटमा ग्रानिट झाँकाको स्थानमा मैदान प्रवेश गरेका थिए । प्री–सिजनको आर्सेनलको यो लगातार चौथो जित हो । यसअघि, आर्सेनलले नर्नवर्ग, एभर्टन र ओर्लान्डो सिटीलाई पराजित गरेको थियो । प्री–सिजनमा पहिलो हार बेहोरेको चेल्सीले यसअघि क्लब अमेरिकालाई हराउँदा चार्लाेटसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

प्रि–सिजनअन्तर्गत नै खेलिएको अर्को म्याचमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि जित आत्मसात गरेको छ । यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटी पुगेका नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोल मद्दतमा सिटीले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको हो । सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा पहिलो हाफमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १२औं मिनेटमा ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए ।

हालान्डले सिटीको लागि डेब्यु खेलमै गोल गर्न सफल भएका थिए । अमेरिकामा आइतबार बिहान भएको खेल हालान्डको गोललगत्तै भारी वर्षाका कारण झन्डै ४० मिनेट स्थगित गरिएको थियो । त्यसपछि रोकिएकै स्थितिबाट खेल सुचारु हुँदा खेललाई छोट्याइएको थियो । दुवै टोलीबाट थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

प्रि–सिजनमा सिटीको यो लगातार दोस्रो जित हो । यसअघि सिटीले मेक्सिकन क्लब अमेरिकामाथि २–१ को निकालेको थियो । बायर्नको भने यो पहिलो हार हो । यसअघि, बायर्नले पहिलो खेलमा डिसी युनाइटेडलाई ६–२ ले पराजित गरेको थियो ।त्यसैगरी, अर्को इंग्लिस प्रिमियर क्लब टोटेनह्याम हट्सपरले पनि फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा प्री–सिजनको मैत्रीपूर्ण खेलमा पुनरागमन जित निकाल्यो । टोटेनह्यामले स्कटिस क्लब रेन्जर्समाथि २–१ गोलअन्तरको पुनरागमन जित निकालेको हो ।

रेन्जर्सका एन्टोनियो मिर्काे कोलाकको गोल सान्त्वना बन्यो । आइब्रक्स स्टेडियम ग्लास्गोमा शनिबार राति भएको खेलको २४औं मिनेटमा एन्टोनियो मिर्काे कोलाकको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता सलन सफल भएको थियो । तर, दोस्रो हाफमा इंग्लिस फरवार्ड केनले ६ मिनेटको अन्तरमा दुई गोल गर्न सफल भएपछि टोटेनह्यामले पुनरागमन जित निकाल्न सफल भयो । खेलको ५०औं मिनेटमा पहिलो गोल गरेका केनले ५६औं मिनेटमा अर्काे गोल थप्दै टोलीको पूनरागमन जित पक्का ग¥यो ।

प्रतिक्रिया दिनुहोस्