पोर्चुगल र स्विट्जरल्यान्डले अंक बाँड्यो



लन्डन, (एजेन्सी)

महिला युरो च्याम्पियनसिपको खेलमा पोर्चुगल र स्विजरल्यान्डले बराबरी खेल्दै समान अंक बाँडेका छन् ।
खेलको पाँच मिनेटभित्रै २–० गोलअन्तरले पछि परेको स्थितिमा पोर्चुगलले स्विट्जरल्यान्डसँग रोमाञ्चक २–२ गोलको बराबरी खेलेको हो ।

म्यानचेस्टरमा शनिबार राति भएको खेलमा स्विट्जरल्यान्डकी कोउम्बा सो र राहिल किविकले गोल गरिन् । पोर्चुगलकी डिएना गोमेस र जेसिका सिल्भाले बराबरी गोल फर्काइन् ।पोर्चुगल खेलको सुरुवाती पाँच मिनेटमै २–० ले पछि परेको थियो । दोस्रो मिनेटमा कोउम्बा सोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाइन् ।

पाँचौं मिनेटमा राहिल किविकले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर पारिन् । तर, त्यो अग्रतालाई स्विट्जरल्यान्डले दोस्रो हाफमा जोगाउन सकिनन् । खेलको ५८औं मिनेटमा डिएना गोमेसले गोल गर्दै पोर्चुगललाई खेलमा फर्कने संकेत दिइन् । खेलको ६५औं मिनेटमा जेसिका सिल्भाले बराबरी गोल फर्काइन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगिएको छ ।

यही समुहको अर्काे खेलमा नेदरल्यान्ड्स र स्वीडेनले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । स्वीडेनकी जोन्ना एन्डरसनले गोल गर्दा नेदरल्यान्ड्सकी जिल रुडले बराबरी गोल फर्काइन् । यो बराबरीपछि यो समूह ‘सी’ मा सबै चार टोलीले समान एक अंक जोडेका छन् । पोर्चुगल, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स र स्विडेन गोलअन्तरमा क्रमशः पहिलोदेखि चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्