काठमाडौं ।
साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रमा रहेको एक अग्लो टावरमा यमनको हुथी विद्रोही समूहले गरेको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन् । मंगलबार (नोभेम्बर २४) भएको आक्रमणमा दुई साउदी नागरिक, दुई भारतीय, तीन नेपाली र चार इजिप्टियन नागरिक घाइते भएको साउदी अरबको नागरिक सुरक्षा महानिर्देशनालय (सिभिल डिफेन्स) ले जनाएको छ ।
साउदी सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार रियादको वित्तीय क्षेत्रमा रहेको टावरलाई हुथी समूहले निशाना बनाएको थियो । आक्रमणपछि सम्बन्धित सुरक्षा तथा उद्धार निकाय तत्काल घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको र नागरिक तथा सम्पत्तिको सुरक्षाका लागि कदम चालेको सिभिल डिफेन्सले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणको निशानामा परेको भवन साउदी अरबको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) को मुख्यालय रहेको ८० तले टावर हो । रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको उक्त टावर साउदी अरबको प्रमुख आर्थिक तथा वित्तीय केन्द्रमध्ये एक हो । साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले वित्तीय क्षेत्रमा रहेको टावरमा ड्रोनबाट आक्रमण गरिएको बताएका छन् ।
उनले नागरिक र नागरिक संरचनालाई जानाजानी निशाना बनाइएको भन्दै आक्रमणको कडा जवाफ दिइने चेतावनी दिएका छन् । साउदी अधिकारीहरूले आक्रमणलाई हुथी विद्रोही समूहको कारबाहीका रूपमा उल्लेख गरेका छन् । घटनास्थलमा अनुसन्धान भइरहेको र सुरक्षा निकायले आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।
पाँच दिनभित्र दोस्रो आक्रमण रियादको वित्तीय क्षेत्रमा रहेको उक्त टावरमा पाँच दिनभित्र दोस्रोपटक आक्रमण भएको हो । यसअघि नोभेम्बर १९ मा पनि पीआईएफको मुख्यालय रहेको टावरमा आक्रमण भएको थियो । त्यसबेला भवनका केही भाग र आसपासका संरचनामा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको थिएन । मंगलबारको आक्रमणमा भने ११ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले अघिल्लो आक्रमणबाट भएको क्षतिको मर्मतमा संलग्न केही व्यक्ति भवनमा रहेका बेला पुनः आक्रमण भएको जनाएका छन् । रोयटर्सले स्रोतलाई उद्धृत गर्दै घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई जलेर चोट लागेको जनाएको छ । तर साउदी सिभिल डिफेन्सको आधिकारिक विज्ञप्तिमा घाइतेहरूको चोटको प्रकृति र अवस्थाबारे विस्तृत जानकारी दिइएको छैन । नेपाली घाइतेको विवरण प्रतीक्षामा आक्रमणमा तीन नेपाली नागरिक घाइते भएको पुष्टि भए पनि उनीहरूको नाम, ठेगाना, काम गर्ने कम्पनी तथा स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यमध्ये एक हो ।
त्यहाँ विभिन्न क्षेत्रमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् । रियादमा भएको पछिल्लो आक्रमणले साउदी अरबमा रहेका नेपाली श्रमिकको सुरक्षा चासोलाई फेरि सतहमा ल्याएको छ । नेपाली घाइतेहरूको अवस्थाबारे रियादस्थित नेपाली दूतावास तथा नेपाल सरकारको आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ । साउदी अरबमा पछिल्ला दिनहरूमा हुथी समूहले वित्तीय, ऊर्जा तथा अन्य महत्वपूर्ण संरचनालाई निशाना बनाउँदै आक्रमण गरेको समाचार सार्वजनिक भइरहेका छन् । रियादको वित्तीय क्षेत्रमा भएको पछिल्लो घटनाले साउदी अरबको सुरक्षा चुनौती थप गम्भीर बनेको संकेत गरेको छ ।








तपाईंको विचार लेख्नुहोस्