काठमाडौं ।
बजार र उचित मूल्य नपाउँदा धनकुटाको पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा रहेको राम्चेका चिया किसान समस्यामा परेका छन् । उत्पादन बिक्री हुन छाडेपछि किसानले चिया टिप्न र बगानको हेरचाह गर्न छाडेका छन् ।२०५५ सालदेखि चिया खेती गर्दै आएका किसानले बजार अभावका कारण लगानीसमेत उठाउन नसकेको गुनासो गरेका छन् ।
वर्षौंदेखि गोडमेल र छँटाइ नहुँदा हराभरा चिया बगान अहिले झाडीमा परिणत हुँदै गएका छन् ।स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन तथा बजारीकरण गर्दै आएको राम्चे अर्गानिक चिया उत्पादन सहकारी संस्थाको उद्योग बन्द भएपछि समस्या थपिएको हो । विद्युत् अभावका कारण जेनेरेटर प्रयोग गर्दा सञ्चालन खर्च बढेपछि उद्योग बन्द भएको थियो ।
उद्योग बन्द भएसँगै किसानले उत्पादन गरेको चिया बिक्री गर्ने भरपर्दो बजार गुमाएका छन् । करिब १० देखि १५ रोपनीभन्दा बढी क्षेत्रमा चिया खेती गरेका किसानसमेत बगान व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।चिया उद्योग पुनः सञ्चालनका लागि नगरपालिकाले पहल गर्नुपर्ने किसानको माग छ । तर, पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बजेट अभावका कारण उद्योग सञ्चालनमा सहयोग गर्न नसकिएको बताएका छन् ।








तपाईंको विचार लेख्नुहोस्