‘आरोप लगाएर फसाउन खोजियो’

खेलाडीमाथि यौन दुव्र्यवहार



हेटौंडा । 

नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले आफ्नो पार्टीबाट निर्वाचित वडाअध्यक्षलाई खेलाडीमाथि यौन दुव्र्यवहारको आरोप लगाएर फसाउन खोजिएको दाबी गरेको छ ।

राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न आएकी एक विद्यार्थीलाई कैलाशका एक वडा अध्यक्षले यौन दुव्र्यवहार गरेको भन्दै समाचार बाहिरिएपछि कांग्रेसले यस्तो बताएको हो ।शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले यौन दुव्र्यवहारको विषयमा सत्य तथ्य छानबीन गर्न माग गरेको छ ।

‘कैलाश गाउँपालिका–९ नम्बर वडा अध्यक्षमाथि लागेको आरोपको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ,’ गाउँपालिका सभापति राजेन्द्र घिसिङले भने–जननिर्वाचित वडाअध्यक्षलाई अनाहकमा यौन दुव्र्यवहार जस्तो घृणित आरोप लगाउने राजनीतिक दलप्रति घोर भत्सर्ना गर्दछौं ।

घटनाको सत्य–तथ्य नबुझी कुनै राजनीतिक दलबाट प्रेरित भएर घटनालाई अघि बढाइएको भन्दै उनले आपत्ति जनाएका छन् । असार १८ गते साँझ विद्यालयका शिक्षकहरूको अनुरोधमा वडा अध्यक्ष हेटौंडा–१० स्थित ओसिन गेस्टहाउसमा पुगेको र राति साढे ९ बजे खेलाडी विद्यार्थीहरूले हल्ला गरेपछि हल्ला नगर्न अनुरोध गरेर साथीसँग कोठामा सुतेका वडा अध्यक्षलाई आरोप लगाइएको कांग्रेस नेताहरूको भनाइ छ ।

उनले प्रहरी प्रशासनलाई घटनाको विषयमा सत्यतथ्य छानबीनका लागि आग्रह गर्दै वडा अध्यक्षले गलत गरेको प्रमाणित भए कारबाही हुनुपर्ने बताएका छन् । पत्रकार सम्मेलनमा उपस्थित भएका र घटना भएको भनिएको दिन वडा अध्यक्षसँगै एउटै कोठामा सुतेको दाबी गरेका कैलाशका नवराज रूम्बाले अनाहकमा वडा अध्यक्षलाई फसाउन खोजिएको बताएका छन् ।

‘मेरो छोरा पनि राष्ट्रपति रनिङसिल्ड खेल्न आएकाले वडा अध्यक्षसँगै म पनि उक्त होटलमा पुगेको थिएँ । सुत्ने तर्खर गर्दै गर्दा विद्यार्थीले हल्ला गरेपछि हामीले राति नसुतेर किन हल्ला गरेको भनेर सम्झाउँदै सुत्न गएका हौं,’ रूम्बाले भने–म राति करिब १ बजेसम्म मोबाइल चलाएर बसेको थिएँ । वडा अध्यक्ष निदाइसक्नुभएको थियो । तर, यहाँ राति साढे ९ बजे यौनदुव्र्यवहार गरेको आरोप लगाएको सुन्दा अचम्म लागेको छ । बालिकामाथि यौनदुव्र्यवहारका घटना भएको पुष्टि भए कारबाही हुनुपर्ने माग गर्दै रुम्बाले अनाहकमा कसैलाई फसाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्