लमजुङको खानेपानीमा ७६ प्रतिशत इकोली भेटियो



लमजुङ।

लमजुङका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको पाईएको छ । स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा एक सय २० वटाको शुद्धता परीक्षण गरीएको मध्ये ९१ वटामा इकोली भेटिएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशतमा इकोली भेटीएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनु भयो । पानीमा मिश्रण भएको दिसाजन्य पर्दाथलाई इकोली भनिने दवाडीले बताउनु भयो ।

परीक्षणको क्रममा जिल्लाका अधिकांश स्थानको पानीमा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । सुन्दरबजार नगरपालिकामा ३९ वटा नमुना परीक्षण गर्दा २७ वटामा अर्थात ६९ प्रतिशत, मध्यनेपाल नगरपालिकामा २२ वटा खानेपानीको नमुना परीक्षण गर्दा २० वटामा अर्थात ९१ प्रतिशत इकोली भेटिएको छ । राइनास नगरपालिकामा आठ नमुना परीक्षण गर्दा ६ वटामा अर्थात ७५ प्रतिशत, बेसीशहर नगरपालिकामा २९ नमुना परीक्षण गर्दा २२ वटामा अर्थात ७६ प्रतिशत इकोली भेटिएको स्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य निरीक्षक दिपक बम्जनले जानकारी दिनु भयो ।

मर्स्याङदी गाउँपालिकामा परीक्षण गरिएको दुई वटा नमुनामा दुई वटामै अर्थात शत प्रतिशत, दोर्दी गाउँपालिकामा पाँच नमुना परीक्षण गर्दा चार वटामा अर्थात ८० प्रतिशत इकोली भेटिएको छ । क्वहोंलासोँथर गाउँपालिकामा १४ नमुना परीक्षण गर्दा १० वटामा अर्थात ७१ प्रतिशत इकोली भेटिएको छ ।

स्वास्थ्य कार्यालयले जलश्रोत ऐन २०४९ दफा १८ को उपदफा १ बमोजिम खानेपानीको शुद्धता र गुणस्तर परिक्षण गरेको हो । कार्यालयका अनुसार खानेपानीको भौतिक शुद्धता, रसायनिक शुद्धता र सुक्ष्म जैविक शुद्धता गरी तीन प्रकारको सुचांकमा केन्द्रित रहेर खानेपानीको शुद्धता परिक्षण गरिएको स्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य निरीक्षक दिपक बम्जनले बताउनु भयो ।

बर्खायामको समयमा किटजन्य तथा पानीजन्य सङ्क्रमणको जोखिम हुनेभएकोले सावधानी अपनाउनसका साथै पानी शुद्धीकरण गरी पिउन स्वास्थ्य कार्यालय लमजुङले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्