चुरे संरक्षण



मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवको कार्यकालयबाट शुरु भएको चुरे संरक्षण कार्यक्रमले साताैं वर्ष पूरा गरेको छ । सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनलाई हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउन शुरु गरिएको छ ।

हरियो वन नेपालको धन भन्ने कथनलाई सार्थकता दिन शुरु गरिएको चुरे संरक्षण कार्यक्रमलाई सबैले सकारात्मक रुपमा लिएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौलीमा वृक्षरोपण गरेर आठौं चुरे संरक्षण दिवस आरम्भ गर्नुभएको छ । नेपालको कुल क्षेत्रफलको १२ दशमलब ७८ प्रतिशत भूभाग चुरे क्षेत्रले ओगटेको छ । पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३३ जिल्लाका केही न केही भूभाग चुरे क्षेत्रमा पर्छ ।

नेपालको चुरे क्षेत्रले जम्मा जंगलको ७३ प्रतिशत भू–भाग ओगटेको छ । राजनितिक आडमा चुरेबाट ढुंगा, गिट्टी र बालुवा निकासी हुने गरेको छ । चुरेसँंग सिमाना जोडिएको अधिकांश क्षेत्रमा चुरेक्षेत्रको नदीजन्य सामग्री अवैध ओसारपसार हुने गरेको छ । सरकारले चुरे जंगल मासेर बाटो निर्माण गर्ने काम रोक्न सकेको छैन । चुरेभित्र बस्ती बढ्दै गएको छ । चुरे क्षेत्रले नेपालको ७७ मध्ये ३६ जिल्लाको भूभाग ओगटेको छ । चुरे संरक्षणको नाममा करिब ८ अर्ब सकिसकेको छ । तर अपेक्षाकृत काम हुन सकेको छैन । सरकारले चुरे जोगाउन हरेक वर्ष करोडौं रुपियाँ खर्च गर्छ ।

तर त्यसको पूर्ण सदुपयोग हुन सकेको छैन । पछिल्लो समय चुरे क्षेत्रको संरक्षण गर्ने नाममा स्थानीय तहले दोहन गर्ने गरेका छन् । जलवायु परिवर्तन रोक्न चुरे क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा मात्र नभै भारत, पाकिस्तानसम्म फैलिएको चुरेलाई संरक्षण गर्नसके जलवायु परिवर्तनको कारण हुने विपत्तीजन्य घटना रोक्न सकिन्छ । वर्षमा एकदिन वा केही क्षेत्रमा वृक्षरोपण गरेर मात्र चुरेको जंगल जोगाउन भने सकिदैन । यसको लागि सरकारले विस्तृत कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।

वन–जंगल संरक्षण, जलस्रोत, भू–उपयोग व्यवस्थापन, सडक तथा पूर्वाधार निर्माण लगायतका महत्वपूर्ण विषय समेट्ने नयाँ कार्ययोजना अघि बढाउनुपर्छ । हुन त चुरेको जंगल संरक्षण गर्न नेपाली सेना, सामुदायिक वन उपभोक्ता समितिले भूमिका नखेलेका होइनन् । तर राजनीतिको आडमा सत्तासीन दलको कारण चुरे संरक्षण हुन कठिन भएको छ । दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्गको रुपमा चिनिएको चुरेक्षेत्रको वन अतिक्रमण, डढेलो, नदीजन्य पदार्थको दोहन, अवैज्ञानिक विकास निर्माणले चुरे संरक्षणमा चुनौती थपिएको छ ।

राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले चुरे जोगाउन काम नगरेको होइन । यस वर्ष एकै दिन करिब एक लाख बिरुवा रोपेर चुरे संरक्षण दिवस मनाइएको छ । सबैले हरेक दिन चुरे जोगाउने योजना रचेर काम गर्न सके चुरेको महत्व सबैले बुझ्नेछन् । त्यसको लागि आजैबाट चुरे जोगाउन लागौं । हाम्रो सन्ततीको भविष्य भनेकै वन–जंगल हो । त्यसमा चुरेक्षेत्रको जंगलको मुख्य भूमिका रहेको छ भन्ने सत्यलाई नबिर्सौं ।

प्रतिक्रिया दिनुहोस्