‘तेरा नाम’ लिएर १७ वर्षपछि फर्किए डीजे नारायण



काठमाडौं  । 

सन् ९० को दशकमा भारतीय पप संगीतको क्षेत्रमा तहल्का मचाएको प्रसिद्ध पप संगीत समूह आर्यन्स ब्याण्डका संस्थापक डीजे नारायण (धर्मेन्द्र जय नारायण) १७ वर्षपछि पुनस् संगीतको दुनियाँमा फर्केका छन्, तेरा नाम… लिएर । गत अप्रिल २५ मा टाईम्स म्युजिकले रिलिज गरेको यस गीतको युट्युब च्यानलमा भ्युज संख्या छोटो अवधिमै १३ लाख नाघिसकेको छ । यो गीत डीजे नारायणले आफैंले रचना गरेका हुन् भने स्वर र संगीत पनि उनी आफैंले भरेका छन् ।

धेरै लामो अन्तरालपछि रेकर्ड गराएको नयाँ गीतलाई संगीतप्रेमीहरुले मन पराइदिएकोमा खुशी व्यक्त गर्दै डीजे नारायणले शुक्रबार नेपाल समाचारपत्रसँग भन्नुभयो मेरो नयाँ गीतले यति धेरै माया पाएकोमा म निकै खुशी छु । धेरै लामो समयपछि नयाँ गीत कम्पोज गरेकोले गाह्रो त निकै भयो तर गीत रिलिज भएपछि जसरी यसले सबैको माया पायो, त्यसबाट म निकै उत्साहित छु ।

सन् २००५ मा उनले पछिल्लो पटक कहेता है दिल बार बार… बोलको गीत रेकर्ड गराएका थिए । त्यसपछि उनी संगीत छाडेर सरकारी जागीरे बनेका थिए । यस बीचमा पनि उनले थुप्रै म्युजिक कन्सर्ट गरेका छन् । तर नयाँ गीत गाउन तथा संगीत भर्न भने समय नपाएको उनी बताउँछन् ।

उनी भन्छन्–म संगीत छाडेर सेवा क्षेत्रमा आएको थिएँ । यहाँ पनि जनताको सेवा गर्ने खुब अवसर पाएँ । तर कोरोना महामारीको दुई वर्षले मलाई सोच्न बाध्य बनायो । मलाई लाग्यो मेरो असल साधना त संगीत नै हो । त्यसैले मै जागीर छाडेर फेरी संगीतको दुनियाँमा नै फर्के । उनले वाणिज्य, कपडा तथा अन्य मन्त्रालयको सूचना महानिर्देशक पदबाट राजीनामा दिएका हुन् । तेरे नामको रिलिजको समयमा कोरोनाबाट संक्रमित हुन पुगेका उनी अहिले स्वस्थ भैसकेका छन् ।

पुणेस्थित फिल्म इन्स्टीच्युटका निर्देशक समेत रहिसकेका डीजे नारायणले यो नयाँ गीत कलेज रियुनियन थीममा बनाएका छन् । गीतको थीम यस्तो छ–कलेज रियुनियनको दिनमा त्यही कलेजमा पढेका दुई जना पूर्व विद्यार्थी मेहरजान र रोनितले त्यतिबेलाकी आफ्नै सहपाठी अनिशासँग भेट्छन् । ती दुबै जनाले अनिशालाई मन पराएका हुन्छन् तर अनिशालाई भन्न सकिरहेका हुँदैनन् । ती दुईले आपसमा उनीहरु दुबै जनाले मन पराएको केटी एउटै हो भन्ने पनि थाह पाएका हुँदैनन् ।

कलेज रियुनियनको दिनमा त्यही कलेका संस्थापक एवं उनीहरुको रोल मोडल डीजे नारायणसँग भेट हुन्छ र उनीहरुले संगीत स्टुडियोमा फर्कने निर्णय गर्छन् । स्टुडियोमा उनीहरुले आफ्नो अब्यक्त प्रेम र कलेजका ती दिनलाई सम्झेर गीत गाउँछन् । गीतको घर के चौबरे वो यारों के मेले, अम्मा का कहना बेटा खाना तो लेले बोलले जोकोहीलाई पनि आफ्नो कलेजका दिनहरुको याद दिलाउँछ ।डीजे नारायणको आर्यन्स ब्याण्डले ९० को दशकमा ल्याएको देखा हैं तेरी आँखों को ये हवा, आँखों में तेरा ही चेहरा जस्ता लोकप्रिय पप गीतले भारतीय संगीत क्षेत्रमा तहल्का मचाएको थियो ।

प्रतिक्रिया दिनुहोस्