सैद्धान्तिक विचलनको असर



वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको अन्तिम नामावली प्रकाशित भैसकेको छ । उम्मेदवारहरुले निर्वाचन चिन्ह पनि पाइसकेका छन् । राजनीतिक दलका उम्मेदवारहरु हुन् वा स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका उम्मेदवारहरु, जसरी पनि चुनाव जित्ने मनस्थितिका साथ अघि बढेका छन् ।

अबको दुई हप्ता अत्यन्त संवेदनशील समय छ । यस समयभित्र दल तथा उम्मेदवारहरुले मतदातालाई प्रभावमा पार्ने अनेक कार्य गर्नेछन् । मतदाताहरुले पनि यही समयभित्र दल तथा उम्मेदवारहरुको घोषणापत्र वा प्रतिवद्धतापत्र छलफलमा ल्याउने छन् । मतपत्रमा नो भोटको व्यवस्था छैन । मतदाताहरु कि मतदान नगरी घरमै बस्नेछन् कि कुनै न कुनै उम्मेदवारलाई मत दिनुपर्ने बाध्यता छ ।राजनीतिक कुरा जे–जे गरेपनि जसरी पनि सत्तामा टिकिरहने रणनीतिका साथ सत्तारुढ दलहरुले चुनावी गठबन्धन तथा तालमेल गरेका छन् । प्रतिपक्ष दलले पनि सकेसम्म बाँकी रहेका साना दलहरुसंँग मिलेमत्तो प्रयास गरिरहेको छ ।

पार्टीको सिद्धान्त, विचार, कार्यक्रम नमिलेपनि निर्वाचनमा मिलेर नै चुनावी प्रतिस्पर्धामा आएका छन् । कतिपय स्थानीय तहमा पार्टीले गरेको गठबन्धन र तालमेलको विरोधमा बागी उम्मेदवार समेत खडा भएका छन् । उदाहरणको लागि भरतपुर महानगरपालिका, जनकपुर उपपमहानगरपालिका, धुलिखेल नगरपालिका लगायतका स्थानीय तहलाई लिन सकिन्छ ।चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनी निकटका नेताहरुले बारम्बार प्रयास गरे पनि बागी उम्मेदवारी फिर्ता लिएनन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका उनले रुख चिन्हबाट चुनाव लड्न खोजेको भए पनि गठबन्धनका कारण केन्द्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मत दिन नेपाली कांग्रेसका समर्थकलाई आह्वान गरे पनि भरतपुरका जनताले विचार नमिल्ने पक्षसँग चुनाबी तालमेल अप्राकृतिक हो भन्ने निष्कर्ष दिएका छन् । स्वतन्त्र उम्मेदवारी फिर्ता नलिएपछि पौडेललाई कांग्रेसले कारबाही गरिसकेको छ ।आफूले कांग्रेसका उम्मेदवार र चुनाव चिन्ह रुखको विरुद्धमा बागी नदिएको भन्दै कांग्रेस बचाउने अभियानमा रहेको पौडेलको तर्क छ ।

भुईंकटहर निर्वाचन चिन्ह पाएका पौडेलले ठूलो रुखको सट्टा सानो रुख चुनाव चिन्ह पाएको पौडेलको छ । मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए, तर सफलता हासिल भएन । उनको उम्मेदवारी कायम भएको छ ।

मेयरका उम्मेदवार पौडेलसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई कांग्रेसले साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ ।पौडेलले भरतपुरस्थित विपी कोइरालको क्यान्सर अस्पतालमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार शुरु गरेका छन् ।

कांग्रेस चितवनको भविष्य जोगाउन आफूहरुले यो अभियान थालेको पौडेल पक्षका व्यक्तिहरुको भनाइ छ । यही अवस्था मुलुकका विभिन्न स्थानमा देखिन्छ । दलको गलत फैसलाका कारण आज देशव्यापी रुपमा अराजकता र विचलनको आगो सल्किएको छ । जसरी पनि चुनाव जित्नैपर्ने मानसिकताका कारण राजनीतिक सिद्धान्त ओझेलमा परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेको दलीय व्यवस्थाको मर्ममै प्रहार हुन बन्द नभएसम्म यस प्रकारको विचलनले निरन्तरता पाइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्