गाली बढी भो !



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कडा टिप्पणी गरेको समाचार मंगलबार निकै भाइरल भयो । सन्त नेता मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिए ।

एकले अर्कालाई पागल देख्ने अभ्यास नेपाली राजनीतिक दलहरुले विगत लामो समयदेखि गर्दैआएका छन् । राजनीतिक दलका नेताहरु शिष्ट र सभ्य भएनन् भनेर चौतर्फी आवाज उठेपनि नेताहरुले त्यसलाई महत्व दिएको देखिएन । ‘मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन’ भनेर ओलीले नेपाली कांग्रेसको घोषणापत्रलाई गाली गर्नुको निहित कारण खुलाउँदै उनले त्यस घोषणापत्रमा आफ्नो नाम लिएर आलोचना गरिएको भनेका छन् ।

उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगत रुपमा नाम किटेर तथानाम गाली गरिएको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’ घोषणापत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए । ओलीले माओवादी केन्द्रको पनि आलोचना गरे । माओवादी पार्टी नै नभएको भन्दै त्यही कारण घोषणापत्रसमेत ननिकालेको दाबी उनको थियो । माओवादी भन्ने पार्टी चुनावमा जाँदै छ, तर त्यो पार्टी होइन केन्द्र हो । त्यस्ता सेन्टरहरु विभिन्नले खोलेका छन् ।

माओवादी पार्टी होइन, माओवादी सेन्टर हो । त्यसले चुनावी घोषणापत्र नै निकालेन । माओवादीको चुनावी घोषणापत्र छैन । गठबन्धनकै अर्को दल एकीकृत समाजवादीप्रति पनि कटाक्ष गर्दै ओलीले ‘फाटोवादी, चोइटोवादीले आफ्नो नाम एकीकृत समाजवादी राखेको छ, प्रतिक्रियावादी, प्रतिगामीको पुच्छरले आफूलाई समाजवादी भनेको छ’ भनेका छन् । ओलीले ‘यो पाँच दलीय गठबन्धन भनेको माउका पखेटामुनि चल्ला पसेजस्तै हो ।

एमालेका डरले कांग्रेसका पखेटामा पसेका छन् । यो एकताको आधार न सैद्धान्तिक, न वैचारिक हो’ भनेका छन् । सम्पूर्ण रुपमा नेपाली कांग्रेस लगायतका दललाई गाली गरेर र उडाएर मंगलबारको उनको भाषण समाप्त भएको छ । उनी अगाडि उभिने कार्यकर्ताले सदाझैं उनलाई खुसी पार्न ताली पिटे, तपाईंको उचाइले यस प्रकारको गालीगलौज नगरौं, हामी छौं भनेर कसैले भनेन । किनभने, यस्तो सुझाव उनलाई मनपर्दैन ।

गालीमा आधार खोज्दा केही पनि नभेटिने भने होइन । पाँच दलको गठबन्धन सिद्धान्तमा आधारित छैन, सत्ता हत्याउने खेल मात्र हो भन्नेमा पूर्ण सत्यता छ । राजतन्त्र फाल्न अगुवाइ गर्ने माओवादी केन्द्र र राजासहितको प्रजातन्त्र चाहने नेकाबीच सहमति भएको छ, त्यसमा सिद्धान्त छैन । तर अरुले गाली गरे पनि राजतन्त्र फर्काउन चाहने राप्रपासँग मिल्न पुगेका ओलीले अरुलाई गाली गर्नुभने सुहाउने विषय होइन । राजधानीकै नगरपालिका कीर्तिपुरमा स्थानीय नेता कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार छान्न दिने र सँगसँगै केन्द्रीय अधिनायकवाद लागु गरेर आफैले पनि उम्मेदवारको नाम पठाउने प्रवृत्तिका ओलीले यति चर्को कुरा गर्न कसरी सुहाउँछ ।

प्रतिक्रिया दिनुहोस्