निफमा महानगर उत्कृष्ट, दिव्य देव र मेनुकाले मारे बाजी



देश विदेशका विभिन्न विधाका फिल्म प्रदर्शन तथा बहस चलाउँदै राजधानीमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सम्पन्न भएको छ। सोमबार साँझ समापन भएको फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ बंगलादेशी फिल्म नो ग्राउन्ड बेनेअथ द फिट र राष्ट्रिय प्रतिस्पर्धातर्फ मोहन राई निर्देशित वान नाइट इन काठमाडौं : महानगर उत्कृष्ट फिचर फिल्म सावित भएको छ।

मोहम्मद रब्बी मृधाद्वारा निर्देशित नो ग्राउन्ड बेनेअथ द फिटले पुरस्कारबापत १५ सय अमेरिकी डलर र ट्रफीलाई आफ्नो बनाएको छ भने महानगरले पुरस्कारवापत एक लाख रुपैयाँ प्राप्त गगरेको छ। पाँच दिनसम्म चलेको फेस्टिभलमा केही समयअघि रिलिज भएको फिल्म चिसो एस्ट्रेबाट दिव्यदेवले उत्कृष्ट अभिनेताको अवार्ड चुमेका छन् भने महानगरबाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्डलाई आफ्नो बनाएकी छन्।

देशविदेशका लामा, छोटा, डकुमेन्ट्री र एनिमेटेडसहितका सात विधामा १४ अवार्ड प्रदान गरिएको फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ हर्ट अफ गोल्ड उत्कृष्ट एनिमेटेड फिल्म र अल सिट उत्कृष्ट सर्ट फिल्मको अवार्ड विजेता भएको छ। त्यसैगरी, राष्ट्रिय प्रतिस्पर्धातर्फ गोर्खा गर्ल उत्कृष्ट डकुमेन्ट्री, आइस क्रिम सर्ट फिल्म, वचन व्यञ्जनकार सर्ट फिल्म निर्देशक, मोहन राई (महानगर) फिचर फिल्म निर्देशक र पटकथा र उज्ज्वल बस्ताकोटी (चिसो एस्ट्रे) फिल्म छायांकन विधाको अवार्ड विजेता भएका छन्।

चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाको सहकार्यमा नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीद्वारा आयोजित फेस्टिभलमा भर्चुअल र भौतिकरूपमा फिल्म प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्