सिक्किमबाट ग्रहण



भारतको सिक्किमस्थित गान्तोकबाट नेपाली फिल्म ग्रहण निर्माणको घोषणा गरिएको छ। डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा त्यहाँको सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बीच निर्माण घोषणा गरिएको हो। फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतका कलाकारले अभिनय गर्नेछन्।

थ्रीलर ड्रामा जनरमा रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने फिल्म सिक्किम र नेपालमा छायांकन हुनेछ। सिक्किममा छायांकन गरिने फिल्मले दुवै देशको पर्यटनमा सघाउने विश्वासमन्त्री शर्माले व्यक्त गरे। ‘हामीकहाँ छायांकन गर्न आउने फिल्मलाई हामी सक्दो सहयोग गर्नेछौं। हामी फिल्मको माध्यमले पर्यटन प्रवद्र्धनमा जोड दिइरहेका छौं’ मन्त्री शर्माले भने। सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पूजा शर्माले फिल्मको माध्यमले आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन होस् भन्ने चाहेको बताइन्। उनले सिक्किममा ७५ प्रतिशत छायांकन गर्ने फिल्म र ५० प्रतिशत कलाकार तथा प्राविधिकलाई फिल्ममा सहभागिता जनाउने नीतिअनुसार आफूहरूले सहयोग गर्ने बताइन्।

अभिनेता विनयले ग्रहण लभ थ्रिलर फिल्म हुने बताए। नायिका नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म सोल सिस्टर्सको शुरुवात नै सिक्किमबाट गरेको सुनाइन्। ‘फिल्मको स्टोरी लभ, थ्रिल, ड्रामा मिश्रित भएकाले मैले धेरै कुरा खुलाउन मिल्दैन’ नम्रताले भनिन्। सारुकले पनि केही समयअघि म्युजिक भिडियो छायांकन गर्न पुगेको पललाई सम्झिए।

यो फिल्ममार्फत सानो संसार रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैछन्। फिल्ममा निर्देशक गुरुङको कथा, विशाल सापकोटाको पटकथा र संवाद, हरी हुमागाईंको छायांकन तथा प्रविन श्रेष्ठको सम्पादन रहनेछ। फिल्मका लागि बाँकी कलाकार र प्राविधिक छिट्टै छनोट गर्ने निर्देशक गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्