पललाई नवलपुर पठाइयो



तनहुँ (नेस) ।

एक नाबालिग गायिकालाई करणी गरेको अभियोगमा पुर्पक्षका लागि जिल्ला कारागार तनहुँको थुनामा रहेका अभिनेता पल शाहलाई नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दामा थुनछेक बहसका लागि शाहलाई मंगलबार नवलपुर पठाइएको हो। थुनछेक बहसका लागि नवलपुर पठाइदिन परिपत्र भएपछि शाहलाई पठाइएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी गराए। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको गत चैत १० गतेको आदेशपछि शाह पुर्पक्षका लागि थुनामा छन्।

शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ। शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो।

कानुनको उक्त दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ। नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएकी थिइन्। त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्