हेटरको पनि मन जित्ने कोशिस गरेको छु : अनमोल केसी



नायक अनमोल केसीले नयाँ वर्ष २०७९ को अवसरमा आगामी वैशाख १ गते रिलिज हुन लागेको फिल्म ए मेरो हजुर–४ मा आफूलाई मन नपराउनेको मनसमेत जित्ने कोशिस गरेको बताएका छन्। आइतबार पत्रकार भेटघाटमा अनमोलले यसपटक आफूले नृत्यदेखि संवादसम्म अघिल्ला फिल्ममा भन्दा बढी मेहनत गरेको बताए।

‘मलाई दर्शकले पहिलो फिल्मबाट सुपरस्टार भनिदिनुभयो। त्यो बेला मैले आफ्नै जीवन त बुझेको थिइन, एक्टिङ कसरी बुझ्ने? एक्टिङ अहिलेसम्म पनि बुझेको छैन, बुझ्दै छु। अहिलेसम्म मेरो फिल्मबाट दर्शकले गौरव गरेकै छन्। तर, सबैको चित्त बुझाउन त कहाँ सकिन्छ र? मेस्सीको त हेटर छन् भने मेरो नहुने कुरै हुँदैन। हेटरहरू नै मेरो गड हो, उहाँहरूको मन जित्ने कोशिस गरेको छु’ अनमोलले भने। उनले फिल्ममा आफू सुपरस्टारको रूपमा भन्दा पनि कलाकारको रूपमा प्रस्तुत भएको बताए। ‘दर्शकले मलाई ए मेरो हजुरको सिरिजमा मन पराउँदै आउनुभएको छ। म चाहन्छु यसको अरू सिरिजहरू पनि बनिरहुन्। आगामी सिरिजमा मलाई सुहाउँदो भूमिका भएमा र उहाँहरूले चाहनुभएमा अझै पनि काम गर्न उत्सुक छु’ उनको भनाइ थियो।

अनमोलका साथ ए मेरो हजुरको अघिल्लो सिरिजबाट डेब्यु गरेकी नायिका सुहाना थापाले दर्शकको माया पाएका कारण आफ्नो दोस्रो फिल्म ए मेरो हजुर ४ मा पनि अभिनय गरेको बताइन्। ‘यो मेरो दोस्रो फिल्म हो। पहिलो फिल्ममा पाएको दर्शकको मायाका कारण दोस्रो फिल्ममा पनि म हुनुपर्छ भन्ने सोचले अभिनय गरेकी हुँ। म कहिल्यै पनि आफ्नो जजमेन्ट आफैँ गर्दिँन। यसमा मेहनत त गरेको छु, तर मेरो काम कस्तो छ भन्नेचाहिँ दर्शकले फिल्म हेरेर प्रतिक्रिया दिनु हुनेछ’ सुहानाले भनिन्। फिल्ममा समावेश गरिएको पाटनको नेवारी संस्कार र संस्कृतिलाई संस्कृतिप्रतिको आफ्नो सम्मानको रूपमा लिएको सुहानाले बताइन्।

करिब दुई दशक अभिनय गरेपछि फिल्म निर्देशनमा हात होमिएकी अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाले आफ्नो अभिनय करिअरको सिकाइ र अनुभवको आधारमा फिल्म निर्देशनमा हात हालेको र अनुभवकै आधारमा पछिल्लो पुस्ताको मागअनुरूप फिल्म निर्देशन गरेको बताइन्। ‘ए मेरो हजुर २ निर्देशन गर्दा नै पुरानो जमानाको हिरोइन भएर पनि किन पुरानै नामको फिल्म बनाएको होला भनेर शुरुमा वितरकहरूले पत्याउनुभएको थिएन। तर, मेरो अनुभव तथा साथीभाइको सल्लाहअनुसार अहिलेको पुस्ताको सोच अनुसारको फिल्म बनाउन सफल भएँ’ निर्माता पति सुनीलकुमार थापाको निर्माण तथा स्व. शिव रेग्मीको निर्देशनमा आफू अभिनित ए मेरो हजुरकै नामको फिल्मबाट निर्देशनमा प्रवेश गरेकी झरनाको भनाइ थियो ‘ए मेरो हजुरमा गरेको अभिनयकै कारण मैले बाहिरको फिल्म पाउन थालेँ। रोनाधोनावाला क्यारेक्टर हुनासाथ सबैभन्दा पहिले मलाई अफर आउने गथ्र्यो। यदि, मैले भ्याइन भने मात्र अरूकोमा जान्थ्यो। मैले नायिकादेखि खलनायिकासम्मको अभिनय गर्दा लभ स्टोरी फिल्म बढी मन पथ्र्यो। अहिले आएर आफूले निर्देशन गर्दाखेरी पनि लभ स्टोरी टाइटलमा फिट हुने नाम भनेको ए मरो हजुर नै हो। जसमा लभ, ट्रयाजेडी सबै कुरा समावेश हुन्छ। अहिले नामको सिरिज बनाउने चलन भएकोले ए मेरो हजुर विभिन्न सिरिजको रूपमा निर्माण गरिएको हो। सायद, अब यो सिरिज लामो समयसम्म अघि जाँदैन।’ झरनाको दाबी थियो ‘यसमा अनमोलले अहिलेसम्म नगरेको अभिनय गरेको छ। यसमा उसलाई इनोसेन्ट क्यारेक्टरको रूपमा प्रस्तुत गरिएको छ।’

निर्माता सुनील कुमार थापाले फिल्मको कथावस्तु राम्रो भएको र फिल्म निर्माणमा आफूले कुनै कन्जुस्याइँ नगरेको कारणले सोही दिन रिलिज हुन लागेको केजीएफ–२ जस्तो फिल्मका साथ जुधाउन तयार भएको बताए। ‘नयाँ वर्ष भनेको हामी सबैको पर्व हो। यस कारण पनि नयाँ वर्षको अवसरमा फिल्म ल्याउन लागेका हौँ। म घमण्डका साथ भन्न सक्छु मैले २७ वर्षको करियरमा बनाएकामध्ये यो सबैभन्दा राम्रो फिल्म बनेको छ’ सुनीलले सुनाए।

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुतिमा सुनीलकुमार थापा प्रडक्सनको ब्यानरमा निर्मित फिल्ममा झरना थापाको कथा, उनका साथमा स्व. छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडले र माधव शर्माको पटकथा तथा संवाद, हिमाल केसीको द्वन्द्व, वसन्त सापकोटा, आशिष अविरल, कल्याण सिंह, प्रतिक पौडेल र उदय राज पौडेलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्