राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप बगैंचामा आयोजित टुबोर्ग छैटौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता–२०७८ मा नगरकोट दोहोरी साँझका जीवन सिग्देल र अस्मिता डल्लाकोटी प्रथम स्थान हासिल गर्न सफल भएका छन्।
आइतबार सम्पन्न प्रतियोगितामा गामबेसी दोहोरी साँझका अर्जुन खड्का र शान्ता वली द्वितीय भए भने क्विन रोधी घरका श्याम राना, हरिमाया रायमाझी, रश्मि बस्नेत र शर्मिला रायमाझी तथा लुम्बिनी प्रदेशले बराबर नम्बर प्राप्त गरी तृतीय भएका छन्। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई दुई लाख २५ हजार, द्वितीयलाई एक लाख ५० हजार रुपियाँ र तृतीयलाई एक लाख रुपियाँ नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।
भद्रकाली समूह (खेम नेपाली) लाई उत्कृष्ट समूहका रुपमा पाँच हजार रुपियाँसहित पुरस्कृत गरिएको छ भने ओखलढुंगा प्रतिष्ठानलाई अनुशासित समूहका रुपमा पाँच हजार रुपियाँसहित पुरस्कृत गरिएको छ। गण्डकी प्रदेशका नवोदित गायक किशान विक र नवोदित गायिका दिलमाया विकलाई जनही पाँच हजार रुपियाँसहित पुरस्कृत गरिएको छ।
त्यसैगरी गण्डकी प्रदेशका प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साँझकी पूजा पुन उत्कृष्ट गायक भएका छन्। उनीहरुालाई जनही सात हजार रुपियाँ प्रदान गरियो।
प्रतियोगीमध्ये सबैभन्दा कान्छी गण्डकी प्रदेशकी प्रतियोगी अर्चना चापागाईंलाई पनि हौसलास्वरूप सात हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ भने प्रतियोगिता अवधिभरको अनुशासित कलाकारका रूपमा नगद पाँच हजार रुपियाँसहित राजु लामिछानेलाई पुरस्कृत गरिएको छ। प्रतियोगिता गत चैत्र १६ गते निःशुल्करुपमा भृकुटी मण्डपबाट शुरु भएको थियो। प्रतियोगितामा ६१ लोक दोहोरी समूहबिच प्रतिस्पर्धा भएको थियो।
अन्तिम चरणको प्रतियोगितामा १२ समूहबीच प्रतिस्पर्धा गराईएको थियो। प्रतियोगिताको समापनका दिन आइतबार अन्तिम चरणको प्रतियोगिताका साथ बीच–बीचमा चर्चित कलाकारहरुको प्रस्तुति प्रस्तुत गरिएको थियो। प्रतियोगितामा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक तथा निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनी निर्णायक सह–संयोजक थिए।











प्रतिक्रिया