भुवनलाई लाइफटाइम अवार्ड, विजय र झरनालाई रजत सम्मान



छायाँछवि क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्ड यस वर्ष पनि हुने भएको छ। आगामी चैत २६ गते धुलिखेलमा हुने अवार्डअन्र्तगत प्रदान गरिने विभिन्न सम्मान र पुरस्कारको घोषणा गरिएको छ।

समारोहमा यस वर्ष लाइफटाइम लिजेन्ड्री अवार्ड नेपाली कलाकारलाई लिएर नेपाली भाषामा नेपालमै निर्मित पहिलो फिल्म आमाका प्रथम अभिनेत्री भुवन चन्द थापालाई प्रदान गरिने भएको छ। २०२२ सालमा निर्मित आमापछि चन्दले हिजो आज भोलि, दुई थोपा आँसु, कोसेली, सीमा रेखा, नेपाली बाबुलगायतका फिल्ममा अभिनय गरेकी छन् भने विभिन्न नृत्य, नाटक, गीति नाटक, टेलिश्रृंखला, भिडियो फिल्ममा अभिनय गर्दै आएकी छन्।

त्यस्तै, पुरुषतर्फ अभिनेता तथा पाइलट विजय लामा र महिलातर्फ अभिनेत्री तथा निर्देशक झरना थापालाई फिल्मकर्मी रजत सम्मान प्रदान गरिने भएको छ। अभिनेता लामाले २०४१ सालमा सार्वजनिक भएको फिल्म आदर्श नारीबाट अभिनय करियर शुरु गरेका थिए। लामाले कोसेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लन्डनमालगायत करिब दुई दर्जन फिल्ममा अभिनय गरेका छन् भने हलिउड फिल्ममा समेत काम गरेका छन्। उनी नेपाल एयरलायन्सको सिनियर पाइलट हुन्। अभिनेत्री तथा निर्देशक थापाले २०५३ सालमा फिल्म दाइजोबाट अभिनय यात्रा शुरु गरेकी थिइन् भने धर्मसंकट, गोर्खाली, बादल पारी, जीवन साथी, तकदिर, पूर्णिमा, ए मेरो हजुर, मेरी आमा, बिदाइ, ओमलगायतका सयौं फिल्ममा अभिनय गरेकी छन्।

उनको होम प्रडक्सनबाट निर्मित ए मेरो हजुर २ र ३ निर्देशन गरी नेपाली सिने क्षेत्रलाई निर्देशकका रूपमा दुई हिट फिल्म दिइसकेकी छन् भने उनीद्वारा निर्देशित ए मेरो हजुर ४ आगामी वैशाख १ गते रिलिज भएको छ। यस वर्षको छायाँछवि फिल्म पत्रकारिता पुरस्कार भने विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ। रेडियोमा काम गर्दै पत्रकारितामा प्रवेश गरेका उनी हाल आफ्नै प्रकाशनको लेन्स नेपाल डटकममा कार्यरत छन्। आयोजक छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले यी सम्मान तथा पुरस्कार चैत्र २६ गते धुलिखेल सनराइज रिसोर्टमा हुने १२औं छायाँछवि डी सिने अवार्डका अवसरमा प्रदान गरिने जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्