शाहलाई धरौटीमा रिहाइको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता



तनहुँ ।

जबरजस्ती करणीको अभियोगमा जिल्ला कारागार तनहुँको थुनामा रहेका नायक पल शाहलाई थुनामुक्त गर्न मागसहित उच्च अदालत पोखरामा निवेदन दर्ता गरिएको छ। नायक शाहका तर्फबाट तनहुँका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गरेका हुन्।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको चैत १० गतेको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेश चित्त नबुझेकाले शाहको तर्फबाट पुनरावेदन निवेदन दर्ता गरिएको वरिष्ठ अधिवक्ता वाग्लेले बताए। अदालतबाट भएको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३, ७९ र ८० तथा न्याय प्रशासन ऐन २०७३ को दफा १५ बमोजिम वेरितको हुँदा चित्त नबुझेकाले बदर गरी मुद्दाको पुर्पक्षको लागि धरौटीमा रिहा गर्न मागसहित उच्च अदालतमा निवेदन दर्ता गरिएको उनले जानकारी गराए।

शाहलाई धरौटीमा रिहा गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै पुनरावेदन निवेदन दर्ता गरिएको उनले बताए। ‘जाहेरीवालाको आरोप बाझिएको अवस्थामा पल शाहका विरुद्ध जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेकाले पुनरावेदन गरेका हौँ, तारेखमा रिहा गरेर मुद्दा लड्न पाउनुपर्ने मागसहित निवेदन दर्ता गरेका छौँ’ वरिष्ठ अधिवक्ता वाग्लेले भने।

पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि जबरजस्ती करणी नभएको पुष्टि गरेको जिकिर निवेदनमा गरिएको छ। जाहेरी ढिलो पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरूले सँगै काम गर्नु, घुमफिर गर्नु, स्वाभाविक प्रक्रियाबाट गायन क्षेत्रमा संलग्न रही स्वाभाविक रूपमा दैनिकी गुजारेको देखिएको विषयले जबरजस्ती करणी नभएको पुष्टि गर्ने पुनरावेदन निवेदनमा दाबी गरिएको छ।

निवेदन दर्ता भएपछि बुधबार उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिनेछ। आदेशबमोजिम जिल्ला अदालतले कैफियत प्रतिवेदन उच्च अदालत पोखरा पठाउनेछ। कैफियत प्रतिवेदन पुगेपछि हरेक बिहीबार निवेदन उपर सुनुवाइ हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्