विन्ध्यवासिनी मन्दिरको प्राण प्रतिष्ठाका लागि नवाह महायज्ञ



मोतीराम तिमल्सिना, काभ्रे ।

विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान, मूल आयोजक समिति २०७८ ले श्रीखण्डपुरमा रहेको विन्ध्यवासिनी मन्दिरमा आउँदो चैत्र १९ देखि २७ सम्म श्रीदेवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गरेको छ । अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाका अनुसार शैक्षिक जागरण, आध्यात्मिक चेतना एवं पर्यटन विकासका लागि विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान स्थापना गरिएको बताउनु भयो । समितिले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयमा जानकारी गराएको हो ।

संस्थाको माध्यमबाट वैदिक सनातन धर्म संस्कृतिको रक्षा, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति, मानव कल्याण एवं धार्मिक, आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशासित बनाउनु यस ज्ञान महायज्ञको प्रमुख उद्देश्य रहेको सचिव हरिकृष्ण तिमल्सिनाले बताउनु भयो ।

प्रतिष्ठानका लागि श्रीखण्डपुरमा खरिद गरिएको १२ आना जग्गामा विन्ध्यवासिनी मंगलाशैनी मन्दिर, यज्ञ मण्डप निर्माण, गुरुकुल सञ्चालनका साथै भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय योग साधना सामुदायिक भवन, सन्त निवास आदि निर्माण कार्यमा महायज्ञबाट आर्थिक सहयोगमा टेवा पुग्ने विश्वास ब्यक्त गरिएको अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भयो । नौ दिनसम्म हुने ज्ञान महायज्ञमा ब्राह्मणहरूद्वारा वैदिक विधि अनुसार रुद्राभिषेक, श्रीमद्भागवत पाठ पारायण, प्रवचन, वेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, कोटि दीप प्रज्वलन, तुला दान, भूमिदान, अत्र दान र सहिद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान लगायतका विचित्र अनुष्ठानहरू सम्पत् गरिने छन् । महायज्ञको शुभारम्भका अवसरमा बाजागाजा र कलश सहित शोभा यात्रा हुनेछ । सो अवसरमा श्रोत्रिय, ब्रह्मनिष्ठ स्वामी श्री निःशेषानन्दका कृपापात्र भागवत परिकर नारायण देवकोटाले सङ्गीतमय श्री देबी भागवत नवाह ज्ञान महायज्ञ कथा वाचन, भजन, कीर्तन गर्नेछन् ।

श्रीदेवी भागवत कथामा आधारित आकर्षक झाँकीहरू कलाकारहरूबाट प्रदर्शन हुनेछ र अन्य विशिष्ट सन्त–महात्मा एवं विद्वान्हरुबाट प्रवचन गरिनेछ । स्वामी श्री निःशेषानन्दजी महाराजको सत्संकल्प सहितको आर्शिष वचनलाई पूर्ण गर्नको लागि कृष्णप्रसाद तिमल्सिनको संयोजकत्वमा श्रीखण्डपुर विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित भेलाले विन्ध्यवासिनी आध्यामिक प्रतिष्ठानको आवश्यकता औचित्य स्पष्ट गरी संस्था जि.प्र.का.बाट दर्ता गरी तर्दथ समितिको बैठक २०७८ फाल्गुन २७ गते सम्पन्न गरी कृष्णप्रसाद तिमल्सिनको संयोजकत्वामा ५१ सदस्यीय ज्ञान महायज्ञ मूल आयोजक समिति गठन भएको छ ।

महायज्ञ सञ्चालनका लागि विभिन्न क्षेत्रमा सहयोग जुटाउन विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएका छन् । यज्ञ सम्पादन गर्न मूल यजमानका रुपमा सहभागी हुन, विशेष कर्ता, दैनिक पूजा सामाग्री, हवन सामाग्री, भोजन, जलपान, आदिको जिम्मा लिन चाहनु हुने श्रद्धालु भक्तजनहरुको दान र यहाँहरूको स्वेच्छाले प्रदत्त सहयोग राशिबाट महायज्ञ सम्पत् हुने बताइएको छ ।महायज्ञको मूल यजमान, विशेष कर्ता, भोजन खर्च, जलपान खर्च र यज्ञानुष्ठानका विभिन्न कार्यहरू गर्न गराउन चाहने लगायतका कुनै कार्यमा सहभागी हुनका लागि नगद वा जिन्सी सहयोग उपलब्ध गराउन सकिने छ । महायज्ञ आयोजक मूल समितिको खातामा रकम जम्मा गरेर वा सिधै समितिको कार्यालयमा रकम जम्मा गरी रसिद लिएर दान गर्न सकिनेछ ।

 

जिन्सी दानको लागि भूमि दान, अत्र दान, तुला दानको व्यवस्था गरिएको छ । धान्याञ्चलका लागि धान, गहुँ, मास, चामल, चिनी आदि साथै हवनका लागि जौ, तिल, घ्यू, समिधा आदि तथा पूजाका लागि चन्दन, फूलमाला, श्रृङ्गार सामाग्री, धूप–बत्ती जस्ता सामाग्रीहरू उपलब्ध गराई सहयोग पु¥याउन सकिनेछ । महायज्ञ सम्पत् गरिसकेपछि बचेको यज्ञशेषबाट विन्ध्यावासिनीमंगलशैनी मन्दिर निमार्ण गर्दा भएको सम्पूर्ण हिसाबहरूलाई मिलान गर्ने र विन्ध्यवासिनी गुरुकुल सञ्चालन सोको भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय सामुदायिक भवन, सत्संग भवन, सन्त निवास आदि निर्माण कार्यहरू सम्पन्न गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्