करिश्मा एमाले कार्यकर्ता



लोकप्रिय अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर एमाले कार्यकर्ता भएकी छन्। मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई खादा र टीका पहिराएर पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश गरेपछि कार्यक्रममा करिश्माले अध्यक्ष ओलीका कारण एमालेमा प्रवेश गरेको बताइन्। ‘ओलीजीलाई फुर्काउन भनेकी होइन। नेता भनेको जनताको पथप्रदर्शक हो। ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु। ओलीको इनर्जी देखेर ताजुब भएकी छु। अर्को पार्टीको मान्छेले पनि उहाँको गुणगान गाएको हुन्छ।

एमालेले मुलुकको परिवर्तन र समृद्धिको सही एजेन्डा बोकेकाले पार्टी प्रवेश गर्ने निर्णय गरेको हुँ।’ करिश्माको भनाइ थियो ‘अब एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु। यही अठोट लिएर मुलुकको समृद्धिको दिशामा अघि बढ्छु।’

उनले फिल्म क्षेत्रबाट पनि देश विकासमा सहयोग गरेको तथा भागबण्डा र कुनै पदको लोभ लिएर आफू एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफू नितान्त एमालेको कार्यकर्ता भएर कार्यकर्तासँग जोडिन पुगेको बताइन्। उनले पार्टीले दिने जिम्मेवारीबाट पछि नहट्नेसमेत बताइन्। उनले देश परिवर्तन गर्ने एजेन्डा पार्टीले बोकेको दाबी गर्दै समानता र सामाजिक न्यायसहित समाजवादको बाटोमा हिँड्ने पार्टी एमाले मात्र भएकोसमेत बताइन्।

‘महिला तथा पिछडिएका वर्गको उत्थान गर्ने पार्टीको नीति भएकाले पनि एमाले प्रवेश गरेकी हुँ’करिश्माको भनाइ थियो ‘समाज र महिलाको लागि केही गर्नुपर्छ भन्ने लागिरह्यो। पछिल्लो समय मेरो क्रियाकलाप हेर्दा अनौठो लाग्ला, झोला बोकेर स्कुल छिरेँ, अहिले १२ कक्षामा पढिरहेको छु। एमालेमा लागेर मुलुकलाई समृद्ध र परिवर्तन गर्ने अठोट गरेकी छु।’

करिश्मा यसअघि बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध थिइन्। केही समयको राजनीति र पार्टीको जिम्मेवारीपछि उनी सो पार्टीबाट अलग भएकी थिइन्। केही दिनअघि एमाले अध्यक्ष ओलीसँग उनको निजी निवास बालकोटमा गएर भेटेपछि करिश्माले सो पार्टीमा प्रवेश गर्ने मुड बनाएकी थिइन्। करिश्माले केही अघिदेखि ओलीले आफूलाई बारम्बार फोन गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्