डेढ महिनामा सकियो ह्यारीकी प्यारी



लन्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशनगर्दै साँढे दुई दशकदेखि लन्डनको दन्त चिकित्सा क्षेत्रमा लोकप्रियता कमाएका डा. कपिल रिजालको निर्देशनमा निर्माणाधीन रोमान्टिक कमेडी फिल्म ह्यारी कि प्यारीको सुटिङ सकिएको छ।

कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई, सबै कलाकार तथा प्राविधिकको पीसीआर परीक्षण गरेर स्वास्थ्य मापदण्ड अपनाउँदै पर्वतबाट सुटिङ शुरु गरिएको फिल्मको करिब डेढ महिना लगाएर बुधबार इन्ड क्ल्याप गरिएको निर्देशक डा. रिजालले जानकारी गराए ।

डा. रिजालका अनुसार काठमाडौं, पोखरा, पर्वत, चितवनलगायत स्थानमा फिल्मको सुटिङ गरिएको छ। डा. कपिलले फिल्म पूरै पारिवारसँग बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण गरिएको बताए। एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता तथा गायक एवं गीतकार डा. भोला रिजालको बिआर प्रोडक्सनको ब्यानरमा दुई दशक लामो अन्तरालपछि निर्माणाधीन फिल्म डा. भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गरेका छन्।

डा. कपिलले लन्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरू गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लन्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। फिचर फिल्म भने ह्यारीकी प्यारी उनको डेब्यु फिल्म हो। फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शीर्ष भूमिकामा छन्।

फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रूपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, मीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए।

डा. कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको फिल्ममा कथा निर्देशक डा. रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरिराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यु निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुसाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जलि जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ।

प्रतिक्रिया दिनुहोस्