जाहेरीवालाको बहस सकियो, प्रतिवादीको शुरु



तनहुँ ।

नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा थुनछेक बहस शुरु भएको छ। शाहको बयान सकिएपछि बुधबारबाट अदालतमा थुनछेक बहस शुरु भएको हो। बुधबार जाहेरीवालाका तर्फबाट अदालतमा बहस भएको छ। जाहेरीवालाका तर्फबाट सातजनाले बहस गरेको अदालतले जनाएको छ। जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मासहितका कानुन व्यवसायीले जाहेरीवालाको तर्फबाट बहस गरेका थिए।

बुधबार नै प्रतिवादीका तर्फबाट पनि बहस शुरु भएको जनाइएको छ। प्रतिवादीका तर्फबाट दुईजनाले बहस गरेका छन्। बहस बिहीबार पनि जारी रहनेछ। थुनछेक बहस सकिएपछि आदेश आउने अदालतले जनाएको छ। नायक शाहविरुद्ध सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी मुद्दामा एक सय १७ प्रमाण पेश गरेको छ। विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयानलगायत एक सय १७ प्रमाण पेश गर्दै सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो।

अदालतमा दुईजना गवाह र १६ साक्षी (देख्ने सुन्ने सहित पल शाहको वास्तविक नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, पलको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो फ्रिन्ट, सीडीआर विवरण, पत्रपत्रिका आएका खबरको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेश गरिएको छ।

त्यस्तै, आठ पानाको पल शाहको स्वास्थ्य परीक्षण, दुर्गेश भन्ने दुर्गाबहादुर थापाको आठ पानाको बयान, जीवन चौलागार्इंको चार पानाको बयान, प्रहरी प्रधान कार्यालयबाट डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट, सरोज वली भन्ने पुण्यप्रसाद ओलीको घटना विवरण, फेसबुक परीक्षणलाई लेखेको पत्र, इलाका प्रहरी कार्यालय गैँडाकोटको पत्र, मालपोत कार्यालय कलंकीको पत्रलगायतका प्रमाण पनि अदालतमा पेश गरिएको छ।

सरकारी वकिल कार्यालयले दुईजना गवाह र १६ जना देख्ने/सुन्नेको बयानसहित उनीहरूको नामसमेत पठाएको छ। गवाहमा स्वयम् पीडित बालिका र अर्को एक परिवर्तित नाम पठाइएको छ। देख्ने/सुन्नेमा स–कुमारी, प्रदीप थापा, गंगा थापा, जीवन चौलागाईं, दुर्गाबहादुर थापा, कमल खत्री, अर्जुन थापा, क्षेत्रबहादुर थापा, विष्णु थापा, सरोज ओली, योगेश शाह, रन्जत गुरुङ, दुर्गा अधिकारी, पानबहादुर जिसी, विष्णुप्रसाद अधिकारी र सीता आचार्य रहेका छन्।

मुद्दामा पीडित बालिकाको यौनजन्य शारीरिक परीक्षण रिपोर्ट, पीडितले घटनामा खुलाएका, कार्यालयबाट लिइएको अडियो/भिडियोलगायतका प्रमाण रहेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

प्रहरी कार्यालय परिसर सुनसान

नाबालिकालाई जबरजस्ती करणीको अभियोग लागेपछि नायक पल शाह २० दिनदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। शाह प्रहरी हिरासतमा रहेदेखि नै शाहका पक्षमा जिल्ला प्रहरी कार्यालय अगाडी नाराजुलुस भएको थियो। मुद्दा परेर अदालतको दायरामा आइसकेपछि कानुन पनि भ्रम फैलाएको भन्दै प्रेस काउन्सिल, गृह मन्त्रालय लगायतले कारबाही गर्न सिफारिस गरेपछि भने उनीहरूले दमौली छाडेपश्चात् प्रहरी कार्यालय वरपर अहिले सुनसान भएको छ।

नवलपुरमा पनि शाहविरुद्ध जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो। नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ। सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ।

नाबालिग गायिकाले फागुन २२ गते सरकारी वकिलको कार्यालयमा बयान दिएकी छन्। उनले जाहेरीमा उल्लेखभएको व्यहोरालाई बल पुग्नेगरी बयान दिएको बताइएको छ। शाहले म्युजिक भिडियो सुटिङका क्रममा पीडितसँग एउटै घरमा बसे पनि शारीरिक सम्पर्क नभएको बयान दिएका छन्।

१७ वर्षीया नाबालिग गायिकालाई जबरजस्ती गरेको अभियोगमा पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा जाहेरी दिएका थिए। त्यसको ४ दिनपछि शाहले तनहुँ आएर प्रहरीसमक्षआत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्