भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा



विमल विष्ट, काठमाडौँ । 

हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको नेपालको दोस्रा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय उडान तथा अवतरण गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएसँगै अहिले आएर कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्यान्डको ताइँ स्माइल वायुसेवा कम्पनीले नियमित उडान–अवतरणका लागि सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडी मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन आफुले निर्देशन दिँदै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पर्यटन प्रबन्धन तथा जति सक्यो बढी पर्यटक भित्राउनका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन जरुरी छ, तोकिएकै मितिबाट विमानस्थल सञ्चालनमा आउने छ ।”

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनीहरू सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा इन्जिनियर प्रदिपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि केही हवाइ कम्पनी सम्पर्कमा आएका छन्, हामीले अध्ययन गरेर अनुमति दिने तयारी गरी रहेका छौँ ।” व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ समेत जारी गरी सकेको छ ।

उक्त विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहलले जनाएको छ ।
यसै गरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या उत्पन्न भइरहेको उक्त विमानस्थलमा प्रमुख गोविन्द प्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विमानस्थलका लागि कुल १५१ जनशक्तिको ताइँ दरबन्दी रहे पनि हाल ३६ जनाले मात्रै काम गरी रहेका छन् ।

विमानस्थल सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने जनशक्ति पठाउन समेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएकै मितिमा अन्तर्राष्ट्रिय जहाज अवतरण तथा उडान गर्न मन्त्री आलेले निर्देशन दिनुभएपछि अहिले नागरिक उड्डयन प्राधिकरणको टोली सोही कामका लागि केन्द्रित भएको महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलको सुरक्षा लगायत अन्यकामा लागि नेपाल प्रहरीको कम्तीमा पनि १७० जना र नेपाली सेनाको१७० दरबन्दी रहेको छ ।

यसै गरी मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको र भन्सार र अध्यागमनका प्राविधिक टोलीले निरीक्षण गरिसकेको छ । आउँदो जेठ महिनाको २ गतेबाट उक्त विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान–अवतरण गरिने प्राधिकरणको लक्ष रहेको छ । यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्का, लगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ।

उक्त विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राउन्ड ह्याण्डलिङ तयारीका लागि निगमका प्राविधिक जनशक्ति भैरहवा अन्तर्राष्ट्रि विमानस्थल पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्