आर्मी झापामा चौथोपटक च्याम्पियन



भद्रपुर ।

त्रिभुवन आर्मी क्लब पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जित्दै प्रतियोगितामा चौथोपटक च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीले १२ लाख ५५ हजार रुपैयाँ र झापाले ६ लाख पाँच हजार रुपैयाँ पुरस्कार हात पारे । आर्मीलाई उपाधि दिलाउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए ।

खेलको १८औं मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुरले गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाए । अर्को गोल २१औं मिनेटमा जर्जप्रिन्सले गरेका थिए । मैदानको मध्यभागबाट पेनाल्टी एरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा उनले गोल गरे ।

३ मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लिने प्रयास गर्यो । टिमले दोस्रो गोल व्यहोरेको ३ मिनेटमै एक गोल फर्कायो । विमल घर्तीमगरले हेडमार्फत गोल गरे । शिवे उल्रिचको क्रसमा उनले गोल गर्दै आर्मीविरुद्ध गोलअन्तर घटाए । उनको यो प्रतियोगितामा व्यक्तिगत पाँचौ गोल थियो ।

फाइनलको ‘म्यान अफ द म्याच’ टेकबहादुर भए । उनले ९ हजार ९ सय ९९ रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ झापाका देवेन्द्र तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल हुँदै नगद २५ हजार प्राप्त गरे ।

प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरूले जनही २१ हजार रुपैयाँ पाए ।

५० लाख बचत
झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरे ।

प्रतिक्रिया दिनुहोस्