सान्तेष स्मृति बुद्धिचाल हुने



ललितपुर ।

नेपाल बुद्धिचाल संघका पूर्व सह–अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष सान्तेषमान सिं प्रधानको ४५ दिनको पुण्य तिथिमा बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । यही चैत २५ देखि २८ गतेसम्म काठमाडौंको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा स्व. सान्तेषमान सिं प्रधान स्मृति खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा हुने भएको हो ।

नेपालमा बुद्धिचाल खेल विस्तार र विकासको लागि महŒवपूर्ण भूमिका निर्वाह गर्नुभएका मिलनसार व्यक्तित्व प्रधानको स्मृतिमा हुने प्रतियोगितामा कुल दुई लाख ३३ हजार एक सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिता स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्मको खेल हुनेछ ।

प्रतियोगितामा विजेता खेलाडीले ५१ हजार एक सय, उप– बिजेताले ३० हजार तीन सय र तेस्रो स्थान हात पार्नेले २० हजार दुई सय नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी, चौथोले १५ हजार, पाँचौंले १० हजार, सातौले ९ हजार, आठांैले ८ हजार, नवौंले ७ हजार र दशौंले ६ हजार नगद पुरस्कार हासिल गर्नेछन् । ११ औं देखि १५ औं सम्मलाई जनही ५ हजार नगद पुरस्कार प्रदान दिइनेछ ।

प्रधान परिवारको पनि सहयोग रहने प्रतियोगितामा छात्र, छात्रा र विभिन्न विधामा गरी ३२ जना खेलाडीले नगद पुरस्कार हात पार्नेछन् । ६ लाख ५० हजार खर्च लाग्ने प्रतियोगितामा नेपालका शीर्ष खेलाडीहरूसहित एक सयभन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्