बार्सिलोनाको सहज जित



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबलमा शीर्ष चारको दौडमा रहेको बार्सिलोनाले सहज जित निकालेको छ । ला लिगाअन्तर्गत जारी सिजनको २७औं राउन्डको खेलमा बार्सिलोनाले फराकिलो गोलअन्तरको जित निकालेको हो । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यसअघि युरोपा लिगमा अन्तिम १६ को खेलमा टर्किस क्लब गालाटासरीसँग आफ्नै घरमा फितलो प्रदर्शन गरेको बार्सिलोनाले घरेलु लिगमा फेरि राम्रो प्रदर्शन देखायो ।

आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा बार्सिलोनालाई जिताउन युवा खेलाडी फेर्रान टोरेजले दुई गोल गरे भने विंगर उसामान डेम्बेलेले दुई गोलमा असिस्ट गरे । त्यसैगरी, लामो समयपछि मैदानमा खेल्न पाएका युवा खेलाडी रिकी पुचले पनि एक गोल गरे । बार्सिलोनाले पहिलो गोल १४औं मिनेटमा पेनाल्टीमार्फत् गरेको थियो । ओसासुनाका डिफेन्डरले डीबक्सभित्र बार्सिलोनाका मिडफिल्डर जाभीलाई लडाएपछि पाएको पेनाल्टीमा टोरेजले गोल गरे ।

त्यसपछि बार्सिलोनाका लागि दोस्रो गोल २१औं मिनेटमा टोरेज आफैंले गरे । डेम्बेलेको पासमा टोरेजले निकै सजिलोसित यो गोल गरेर अग्रता दोब्बर पारेका थिए । त्यसपछि, तेस्रो गोल खेलको २७औं मिनेटमा नयाँ खेलाडी पियरे इमरिक अउबामेयाङले गोल गरे । यसपटक पनि डेम्बेले आफैंले असिस्ट गरे । उनले लामो दूरीबाट दिएको सुन्दर पासमा अउबामेयाङले उत्कृष्ट फिनिसिङमा गोल गरेपछि खेल ३–० बनाएका थिए ।

त्यसपछि खेलको ७३औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका रिकी पुचले मैदान पसेको दुई मिनेटमै गोल गरे । पुचले सुरुमा आफैंले हानेको बल गोलकिपरबाट रिबाउन्ड भएर आएकोमा दोस्रोपटक गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए । मैदान पसेको दुई मिनेटमै गोल गरेर उनले प्रभाव देखाएका थिए । त्यसपछि, बा”की समयमा गोल नभएपछि खेल बार्सिलोनाले ४–० ले जित्यो । यो जितपछि बार्सिलोनाले २७ खेलबाट कुल ५१ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्