हाफ म्याराथनमा कान्छीमाया पहिलो



तनहुँ ।

१ सय १२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो महिला हाफ म्याराथनमा कान्छीमाया कोजु पहिलो भएकी छन् । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ५५ मिनेट १२ सेकेन्डमा पार गर्दै कोजुले पहिलो स्थान हासिल गरिन् ।

साथै कोजुले ४१ हजार ७८ रुपैयाँ पुरस्कार प्राप्त गरिन् । सशस्त्र प्रहरी बल (एपिएफ) की नेपालकी कीर्तिमानी धाविका उनी राष्ट्रियस्तरका दौड प्रतियोगितामा सहभागी हुँदै आएकी छन् ।

त्यस्तै, प्रतियोगितामा नेपाल प्रहरीकी रेखा बम विष्ट द्वितीय भइन् । विष्टले उक्त दूरी दुई घण्टा चार मिनेट ४२ सेकेन्डमा पार गरेकी हुन् । उनले ३१ हजार ७८ रुपियाँ हासिल गरिन् । प्रतियोगितामा व्यास–१० स्थित भानु माध्यमिक विद्यालयकी छात्रा नम्रता गुरुङ तृतीय स्थानमा आइन् । गुरुङले उक्त दूरी दुई घण्टा ११ मिनेट २३ सेकेन्डमा पूरा गरेकी हुन् । उनले २१ हजार ७८ रुपियाँ पुरस्कार पाइन् ।

त्यस्तै, व्यास–१० भानु माध्यमिक विद्यालयकी छात्रा सन्ध्या अधिकारी, नवलपुरको कावासोतीकी यमुना थापा, कास्कीकी सुष्मा पुन, दमौलीकी लक्ष्मी मानन्धर र गोर्खाकी गंगा कुमालले सान्त्वना पुरस्कार जनही ११ हजार ७८ रुपियाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्