मनाङ खप्तडको सेमिफाइनलमा



धनगढी ।

पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुवात गरेको छ । बिहीबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा मनाङले भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित समेत गर्यो । मनाङलाई जित दिलाउन अञ्जन विष्ट र विमल रानाले एक एक गोल गरेका थिए । दिल्लीका लागि कृष्णले एक गोल फर्काए ।

खेलको ६९ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई शुरूआती अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८० औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को अग्रतामा राखे । त्यसपछि गोल नहुँदा मनाङले जित हासिल गरेको थियो ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्