कैलपाल र पाटन फाइनलमा



बैतडी ।

बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा कैलपाल क्रिकेट क्लब र आयोजक पाटन क्रिकेट क्लब प्रवेश गरेका छन् । ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पराजित गर्दै कैलपाल उपाधि नजिक पुगेको हो ।

कैलपालले दिएको २ सय ३८ रनको विशाल लक्ष्यको जवाफमा ग्वाल्लेक ९.२ ओभरमा मात्र १ सय रनमा समेटियो । टिमका लागि पिताम्बर जोशीले ३१ र पंकज जोशीले २१ रन जोडे । कैलपालका सन्तोष चन्दले ४ र मुकेश चन्दले ३ विकेट लिएका थिए ।

त्यसअघि, श्रीकृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङ गरेको कैलपाल १९.२ ओभरमा २ सय ३७ रन जोडेर अलआउट भयो । जसमा प्रदीप चन्दले ६६ रन तथा बीरेन्द्र चन्दले ४१ रन बनाएका थिए । ग्वाल्लेकका पिताम्बर जोशीले ३ तथा बीरेन्द्र बोहरा र दीपक जोशीले २/२ विकेट हात पारे ।

यस्तै, अर्को सेमिफाइनलमा पाटन क्रिकेट एकेडेमीलाई १ सय २८ रनले हराउदै आयोजक पाटन फाइनलमा पुगेको छ । टिमले दिएको १ सय ७५ रनको विजयी लक्ष्यको जवाफमा एकेडेमीले ८.२ ओभरमा मात्र ४६ रन बनाउन सक्यो । हरिश विष्टले सर्वाधिक १८ रन जोडेका थिए । अन्य ब्याट्सम्यान नचल्दा एकेडेमी सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । एकेडेमीलाई सस्तैमा समेट्न पाटनका सन्नी विष्टले ५ र दीपेन्द्र चन्दले ३ विकेट हासिल गरेका थिए ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ७४ रन जोड्न सफल भयो । जसमा प्रकाश बुडालले ४३ र सन्नी विष्टले ३१ रन बनाए । एकेडेमीका सन्तोष जोशीले ४ र शुशांक चन्दले ३ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्