बझाङको विजगडामा देउडा प्रतियोगिता सञ्चालन हुँदै 



बझाङ ।

जिल्लाको बुङ्गल नगरपालिकामा वृहत् देउडा प्रतियोगिताको आयोजना गरिएको छ । बुङ्गल साहित्य देउडा समाजको आयोजनामा तथा बुङ्गल नगरपालिकाको समन्वयमा स्थानीय कला संस्कृति प्रदर्शनी तथा बृहत् देउडा प्रतियोगितामा सञ्चालन हुन लागेको हो ।

‘सुदूरपश्चिमको कला र संस्कृतिको सम्मान’ स्वरूप बुङ्गल साहित्य देउडा समाजले नगरपालिकाको केन्द्र विजगडामा प्रतियोगिताको आयोजना गर्न लागेको समाजका अध्यक्ष सुरेश  कुँवरले बताए । महाशिवरात्रिको अवसरमा यही फागुन १६ र १७ गते २ दिन प्रतियोगिता हुने भएको हो ।

‘बुङ्गल नगरपालिका विजगडा जाऔँ, स्थानीय कला संस्कृति र देउडा सँगै रमाऔँ’, भन्ने मूल नारासहित फागुन १६ गते पञ्चेबाजा, फाग, मागल, छलिया, ढुस्को, धमारी, ठाडी भाका र अन्य विभिन्न स्थानीय भाकामा नाचगान हुनेछ भने १७ गते देउडा कलाकारहरूबिच वृहत् देउडा प्रतियोगिता हुने आयोजकले जनाएको  छ  ।

सुदूरपश्चिमको कला गला र संस्कृतिको लोप हुँदै गैरहेको समयमा  संस्कृतिको सम्मान, पहिचान र जगेर्ना गर्नका लागि स्थानीय कला संस्कृती प्रदर्शनी तथा वृहत् देउडा प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष कुँवरको भनाइ रहेको छ । देउडा प्रतियोगिता सहभागी हुन इच्छुकले फागुन १५ गते सम्म टिम दर्ता गरिसक्नु पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्