काठमाडौँ।
सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) मा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाखभन्दा बढी भिडियो हटाएको छ।
टिकटकले बिहीबार (अक्टोबर २९) सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार उक्त अवधिमा नेपालबाट २० लाख ३६ हजार १९१ वटा भिडियो हटाइएको हो। यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत रहेको कम्पनीले जनाएको छ।
रिपोर्टअनुसार हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै टिकटकले पहिचान गरी हटाएको थियो। त्यस्तै, नियम उल्लङ्घन गर्ने ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको छ। थप समीक्षा गर्दा ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएको टिकटकले जनाएको छ।
विश्वव्यापी रूपमा भने उक्त तीन महिनाको अवधिमा टिकटकले १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। यो प्लेटफर्ममा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो। तीमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा भिडियो स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको कम्पनीले जनाएको छ।
विश्वव्यापी रूपमा हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरिएका थिए भने ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो। थप समीक्षापछि ६२ लाख ६२ हजार ३८३ वटा भिडियो पुनःस्थापना गरिएको रिपोर्टमा उल्लेख छ।
टिकटकले प्रयोगकर्ता खाताको सुरक्षालाई समेत प्राथमिकता दिएको जनाएको छ। यस अवधिमा विश्वभर १४ करोड ६८ लाख ७ हजार ४०० वटा नक्कली खाता हटाइएको छ। त्यस्तै, १३ वर्षभन्दा कम उमेरका बालबालिकाको हुन सक्ने आशङ्कामा २ करोड ६८ लाख ४० हजार ७६७ वटा खाता हटाइएको कम्पनीले जनाएको छ।
यसैगरी, कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार ४६३ वटा कमेन्ट हटाइएको छ।
लाइभ फिचरमार्फत हुने गतिविधिको निगरानीलाई पनि टिकटकले प्राथमिकता दिएको छ। रिपोर्टअनुसार यस अवधिमा नियम उल्लङ्घनका कारण ७ करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र २ करोड ६७ लाख ८१ हजार १३५ जना लाइभ क्रिएटरमाथि कारबाही गरिएको छ। उनीहरूलाई चेतावनी दिनुका साथै आम्दानी गर्ने सुविधा हटाइएको कम्पनीले जनाएको छ। थप समीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएका छन्।
टिकटकका अनुसार ठूलो संख्यामा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान तथा हटाउन स्वचालित मोडरेसन प्रणालीको भूमिका महत्त्वपूर्ण हुँदै गएको छ। प्रयोगकर्ता, क्रिएटर तथा समग्र समुदायका लागि सुरक्षित र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न यस्ता प्रविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने कम्पनीले जनाएको छ।
टिकटकले आफ्नो प्लेटफर्ममा सामग्री व्यवस्थापन, नियम कार्यान्वयन तथा पारदर्शितासम्बन्धी जानकारी सार्वजनिक गर्न नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गर्दै आएको छ। सन् २०२६ को दोस्रो त्रैमासिकको विस्तृत प्रतिवेदन कम्पनीको ट्रान्सपरेन्सी सेन्टरमा उपलब्ध रहेको जनाएको छ।











प्रतिक्रिया