क्रिस्टा पाइकलाई विषाक्त सुईबाट मृत्युदण्ड दिने प्रयास असफलपछिको पहिलो प्रतिक्रिया : ‘पीडारहित क्षण बितेको छैन’


अमेरिका।

अमेरिकामा मृत्युदण्ड दिने क्रममा प्रयोग गरिएको विषाक्त सुईको प्रयासबाट बाँच्न सफल क्रिस्टा पाइकले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो पीडा व्यक्त गरेकी छन्।

गत सेप्टेम्बरमा पेन्टोबार्बिटल औषधिको सुई प्रयोग गरी उनलाई मृत्युदण्ड दिने प्रयास गरिएको थियो। तर उक्त प्रयास असफल भएपछि पाइकले गम्भीर शारीरिक तथा मानसिक पीडा भोगिरहेको बताएकी छन्।

शुक्रबार उनको कानुनी टोलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा पाइकले उक्त घटनापछि आफूले निरन्तर पीडा सहनुपरेको उल्लेख गरेकी छन्।

‘त्यो रातदेखि मलाई पीडा नभएको एक क्षण पनि बितेको छैन,’ उनले भनेकी छन्।

उनले आफ्नो शरीर, पाखुरा, हात र घाँटीमा निरन्तर दुखाइ भइरहेको बताउँदै अझै पनि बोल्न कठिनाइ भइरहेको उल्लेख गरेकी छन्।

‘मेरो शरीर दुखिरहेको छ। मेरा पाखुरा दुखिरहेका छन्। मेरा हात र घाँटी दुखिरहेका छन्। मलाई अझै पनि बोल्न गाह्रो भइरहेको छ। यो पीडा केवल शारीरिक मात्र होइन, मेरो मन र आत्मा पनि दुखिरहेको छ,’ उनले विज्ञप्तिमा भनेकी छन्।

५० वर्षीया पाइकलाई गत महिनाको अन्त्यतिर अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

गत सेप्टेम्बरमा पेन्टोबार्बिटल औषधिको दुईवटा सुई प्रयोग गरेर उनलाई मृत्युदण्ड दिने प्रयास गरिएको थियो। तर प्रक्रिया सफल हुन नसकेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। यद्यपि, उनी उक्त मृत्युदण्डको प्रयासबाट बाँच्न सफल भएकी थिइन्।

मृत्युदण्डको असफल प्रयासपछि पाइकले सार्वजनिक गरेको यो पहिलो प्रतिक्रिया हो।

पाइकलाई सन् १९९५ मा कोलिन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। लामो समयपछि मृत्युदण्ड कार्यान्वयन गर्ने क्रममा प्रयास असफल भएपछि उनी जीवितै रहेकी हुन्।