काठमाडौँ।
प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कार्यको कडा शब्दमा भर्त्सना गरेको हो।
कार्यालय समय सकिएपछि समाचार कक्षमै प्रवेश गरी प्रहरीले गरेको यस्तो कार्यप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा यस्तो कदम चालिएको काउन्सिलको भनाइ छ।
लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिन खोजिएको घटनालाई काउन्सिलले थप गम्भीर रूपमा लिएको छ। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएका यस्ता घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको काउन्सिलले जनाएको छ।
प्रकाशित समाचार सामग्रीप्रति विमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन तथा निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा स्मरण गराइएको छ।
समाचार सामग्रीकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समस्या समाधान गर्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।
त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउ गर्नुको कानुनी आधार तत्काल सार्वजनिक गर्न काउन्सिलले माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए उनीहरूलाई तत्काल रिहा गर्नसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ।











प्रतिक्रिया