पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालय भन्छ : ‘हामीलाई कुनै जानकारी छैन’


काठमाडौँ।

पत्रकार पक्राउका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले कुनै जानकारी नभएको बताएको छ ।सचिवालयले पत्रकार पक्राउका घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको दाबी गरेको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार भएका घटनाक्रमबारे प्रधानमन्त्री तथा उनको कार्यालयलाई कुनै जानकारी नभएको बताइन्।

‘आज विकास भएका घटनाक्रमहरूमा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संलग्नता छैन,’ दाहालले भनिन्, ‘यो विषयमा जानकारी नै छैन।’

शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका पत्रकार शोभराज बराललगायतलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसैगरी, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोसाकमा खटिएका प्रहरी पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए।

पत्रकार पक्राउ तथा पक्राउ गर्ने क्रममा सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाले सञ्चार क्षेत्रको ध्यानाकर्षण भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले भने घटनाबारे आफूहरूलाई जानकारी नभएको जनाएको हो।