प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गरेको उल्लेख गर्दै यसलाई ‘राज्य आतंक’को संज्ञा : महासंघका कार्यवाहक अध्यक्ष आचार्य


काठमाडौं ।

नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका कार्यालय तथा समाचार कक्षबाटै पत्रकारलाई पक्राउ गर्ने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएका छन्। उनले यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गरेको उल्लेख गर्दै यसलाई ‘राज्य आतंक’को संज्ञा दिएका छन्।

शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नयाँबानेश्वरस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो। त्यस्तै, नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई साइबर ब्युरो लैजान प्रहरी कार्यालय पुगेको थियो। मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दियो पोस्टको कार्यालयमा समेत सादा पोसाकका प्रहरी पुगेको जनाइएको छ।

समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रिया अपनाउने निकाय प्रेस काउन्सिल रहेको उल्लेख गर्दै आचार्यले पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्नु उचित नभएको जनाएको छ। यस्ता घटना नरोकिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ।