विदेशी पर्यटकलाई पनि हवाई भाडामा छुट



काठमाडौं ।

विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाई जहाजको भाडामा) छुट दिने सहमति गराएको हो ।

यसै गरी, पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ । यसरी विदेशबाट आउने नागरिकलाई हवाई भाडामा छुट दिने सहमती गर्ने हवाई जहाज कम्पनीहरुमा बुद्ध एयरलाइन्स प्रालि तथा यति एयरलाइन्स प्रालि रहेको सो समितिका संयोजक राजाराम गिरीले बताउनुभयो ।

‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिकसरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्’, उहाँले भन्नुभयो– ‘अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौं, उहाँहरुले पनि छुट दिनु हुनेछ ।’

यतिमात्र नभई उक्त समितिले कोरोना भाइरसको प्रभावका कारण थला परेको उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाहरुको खोजी, पहिचान तथा प्रवद्र्धनका लागि तथा यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानमा वृद्धि गर्ने अभिप्रायले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलब्ध गराउनका लागि आह्वान गरेको छ ।

त्यस्तै, उक्त समितिले हाल कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकार मन्त्रिपरिषद्वाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश–२०७८ लाई परिमार्जन गरी यात्रासम्बन्धी मापदण्डलाई थप सरलीकरण गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको जनाएको छ ।

समितिका संयोजक गिरीका अनुसार समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझावबमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने कार्य प्रारम्भ गरिसकेको छ । पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिको गएको माघ २४ गतेको निर्णय अनुसार पर्यटन उद्योगसम्बन्धी सातवटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेश स्तरबाट सल्लाह सुझाव लिन मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरुबाट प्रदेश प्रतिनिधिसमेत तोकिसकेको छ ।

समितिले निकट भविष्यमै देशैभरबाट पर्यटन क्षेत्रका सरोकारवालहरु समावेश गरी एक बृहत् अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने र सो अन्तक्र्रियाबाट प्राप्त सुझावसमेत समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्