पालिकाद्वारा फेमिली कार्ड वितरण



पाल्पा ।

तानसेन नगरपालिकाले पालिकाभित्रका घरपरिवारको लगत विवरण संकलन गरी क्यूआरकोर्डसहितको फेमिली कार्ड वितरण गरेको छ । नगरपालिकाले टोल–टोलमा गणक परिचालन गरेर नगरभित्रका सबै घरपरिवारहरुको विवरण संकलन गरेको थियो ।

विवरणका आधारमा फेमिली कार्ड वितरण गरिएको नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । नगरपालिकाले वडा नं. ६ का केही नागरिकलाई प्रतिनिधिमूलक रूपमा फेमिली कार्ड वितरण गरेको हो । नगर प्रमुख शाहीले ताननसेन नगरपालिकाले तथ्यांकहरुलाई प्रविधिमैत्री बनाउन लागेको र एक निमेषमै तानसेन नगरपालिका र नगरपालिकाको अवस्था के छ भन्ने बारे जान्न सक्ने गरी काम भइरहेको बताउनुभयो ।

उहाँले नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिस साथै वडा कार्यालयबाट दैनिक रूपमा प्रवाह हुने सेवा–सुविधा लिनका लागि यस पारिवारिक लगत कार्डले सहज बनाउने बताउनुभयो । नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले फेमिली कार्ड, यसभित्र समावेश विषयका तथ्यांकबारे जानकारी गराउनुभएको थियो । उहाँले घटना दर्तादेखि नागरिकले लिएका सेवासमेत सर्भरमा अपडेट गरिने भएकाले यो कार्डले काममा छिटो–छरितो र सूचना प्रविधिमैत्री गराउने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटि अध्यक्ष गुराँस आत्रेयले नगरपालिकाको यो प्रयास सराहनीय रहेको बताउनुभयो । नेपाली कांग्रेस तानसेन नगर सभापति सुवर्णमुनि शाक्यले नगरपालिकाले आफ्नो पहिचान दिने गरी गरेको कामको प्रशंसा गर्नुभयो । माओवादी केन्द्रकी नगर अध्यक्ष प्रतीक्षा सिञ्जालीले प्रविधिको उच्चतम प्रयोगको नमुनाका रूपमा फेमिली कार्ड रहेको बताउनुभयो । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले प्रविधिमैत्री सेवा हुनु तानसेनबासीका लागि गौरवको विषय भएको बताउनुभयो ।

फेमिली कार्डमा नागरिकता विवरण, परिवारका सबै सदस्यको विवरण लगात समावेश रहेका छन् । फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आईडी नम्बर समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्