हिँड्ने सन्देशसहित उल्टो यात्रा



हेटौंडा ।

विश्व रेकर्डसहित स्वास्थ्य रहन दैनिक कम्तीमा एक घण्टा हिँड्न अनिवार्य रहेको स्वास्थ्य सन्देश लिएर यात्रामा निस्किनुभएका करिब ३० वर्षीय ऋषि परियार पैदलबाट उल्टो यात्रा शुरु गरेर हेटौंडा आइपुग्नुभएको छ । उहाँ मेची–महाकाली यात्रामा हिँडेको २५ दिनमा मंगलबार करिब १ बजे हेटौंडा आइपुग्नुभएको हो ।

परियारले काँकडभिट्टाको मेची किनारबाट उल्टो पैदलयात्रा शुरु गर्नुभएको थियो । करिब दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाउनुभएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गरिरहेको बताउनुभयो । उहाँले विश्व रेकर्ड राखिसक्नुभएको छ । स्वास्थ्य रहन हिँड्नु अनिवार्य रहेको स्वास्थ्य सन्देश लिएर यात्रामा निस्किएको उहाँले बताउनुभयो ।

उहाँले यात्राका क्रममा गाडीको यात्रा नगर्ने उद्घोष गर्दै भन्नुभयो– ‘सुल्टो हिँड्दा त अप्ठेरो हुन्छ । म त झन् उल्टो हिँडेर आएको छु ।’ परियारले लक्ष्य भने पूरा गरेरै छाड्ने दाबी गर्नुभएको छ । यात्राका क्रममा आउने अवरोध र जंगल क्षेत्रमा भने उहाँले प्रशासनको सहयोग पाएको र प्रहरीले सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

दाङका परियार खुट्टामाथि पारेर अर्थात् दुई हात टेकेर दुई/तीन किलोमिटरको दुरी सहज पार गर्न सक्नुहुन्छ । उहाँले यसरी हिँड्ने अभ्यास गर्न थालेको करिब १४ वर्ष भयो । कतै गएर तालिम नलिए पनि निरन्तरको स्वभ्यासले उहाँ मज्जाले खुट्टाले झैं हात टेकेर हिँड्नसक्ने हुनुभएको छ ।

‘जस्तोसुकै भए पनि मैलेले अभ्यास गर्न कहिल्यै छाडिनँ । कतिपय त काम नपाएको भन्दै खिल्ली उडाउँछन् । तर, त्यस्ताको वास्तै नगरेर निरन्तर अभ्यास गर्दै आएको थिएँ ।’ –उहाँले भन्नुभयो । स्थानीय समदर्शी क्लबले ऋषिको प्रतिभा पहिलोपटक मिडियासामु प्रदर्शन गरेको थियो । तर, त्यो पर्याप्त बन्न सकेन । त्यसबाट ऋषिले स्थानीयस्तरमा चर्चा कमाउनुभयो ।

तर, केन्द्र तथा विश्वको ध्यान आकर्षित हुन सकेको छैन । ऋषि आफूलाई राज्य वा कुनै संघ–संस्थाले सहयोग गरिदियोस् भन्ने चाहना राख्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्