तिर्प गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण



मुगु ।

छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ७६ घर–परिवारलाई ग्यास चुलो वितरण गरेको छ । छायाँनाथ रारा नगरपालिकाको गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत उनीहरूलाई चुलो वितरण गरिएको हो ।

छायाँनाथ रारा–१३ को तिर्प गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको थियो । दाउराको साह्रै समस्या हुने उक्त गाउँमा एक घर एक ग्यास चुलो सहयोग गरेको नगर प्रमुख हरिजंग शाहीले बताउनुभयो । ग्यास चुलो खरिदका लागि नगरपालिकाले करिब ७ लाख रुपियाँ खर्च गरेको उहाँको कथन छ । अन्नभन्दा दाउराको चिन्ताले सधैं पिरोलिने तिर्प गाउँका नागरिक ग्यास चुलो पाएपछि खुसी भएका छन् । ‘दाउराको समस्या थियो, दाउरा खोज्दै दिन बित्ने, बालबच्चाको बिचल्ली हुन्थ्यो’, तिर्प गाउँकी औंशी मल्ल भन्नुहुन्छ– ‘त्यो समस्याबाट मुक्त भएका छौं ।’

यस्तै, आफ्नो वन नभएकाले दाउराका लागि छिमेकीको वनमा जाने गरेको चाउली मल्लले बताउनुभयो । एक भारी दाउरा ल्याउन दुई दिन लाग्ने गरेको उहाँको भनाइ छ । धुँवारहित ग्यास चुलो पाउँदा गाउँका सबै हर्षित भएको अर्की स्थानीय बिस्नु एैडी बताउनुहुन्छ ।

दुई वर्षअघि घरदैलो अभियानअन्तर्गत तिर्प गाउँमा जाँदा त्यस क्षेत्रका नागरिकले आफूहरूको जंगल नभएको र दाउराको समस्या प्रमुख भएको जनगुनासो गरेपछि दाउरा खोज्दै दिन बर्बाद गर्न नपरोस्, स्वास्थ्य स्थितिमा सुधार आओस्, बालबालिकाको बिचल्ली नहोस् भनेर तिर्पका ७६ घरधुरीलाई एक घर एक ग्यास चुलो वितरण गरेको नगर प्रमुख शाहीले बताउनुभयो ।

नागरिकका समस्या समाधान गर्नतर्फ लागेको बताउँदै उहाँ भन्नुहुन्छ– ‘क्रमिक रूपमा समस्या समाधान गर्नेतर्फ लागिपरेको र यस्ता कार्यक्रम अन्य गाउँमा पनि लागू गर्छौं ।’ गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत गाउँ–गाउँ पुगेर नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताबारे नागरिकका समस्याबारे जानकारी लिने, अनुगमन गर्ने, स्थानीयका गुनासा र सुझाव लिइरहेको र समस्या समाधान गर्न लागिपरेको नगरप्रमुख शाहीको भनाइ छ । गत वर्ष पनि दाउरा नपाउने लह र लापु गाउँका ५७ घरधुरीलाई नगरपालिकाले एक घर एक ग्यास चुलो वितरण गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

यसैबीच नगरपालिकाले कुटानी पिसानीमा समस्या भोग्दै आएका वडा नं १३ का रुगा र थार्प गाउँका समुदायलार्ई कुटानी पिसानी मिल सहयोग गरेको छ । अन्न पिस्न घण्टौं हिँडेर गमघट्ट जान बाध्य त्यस वडा क्षेत्रका समुदायलाई सहजताका लागि बिजुली र डिजेल दुवैबाट चल्ने कुटानी पिसानी मिल प्रदान गरेको हो ।

अन्न कुटानीपिसानी गर्ने क्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको वचतका रुगा र थार्पका लागि कुटानी पिसानी मिल सहयोग गरिएको नगर प्रमुख शाहीले बताउनसभयो । नगरपालिकाले गाउँभरिका महिलाले अन्न पिस्नका लागि उपयोग गर्न पाउने गरी मिल प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

अन्न पिस्न घण्टौं हिँडेर गमघट्ट जान बाध्य त्यस वडा क्षेत्रका समुदायलाई सहजताका लागि बिजुली र डिजेल दुवैबाट चल्ने कुटानीपिसानी मिल प्रदान गरेको हो । अन्न कुटानीपिसानी गर्ने क्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको वचतका रुगा र थार्पका लागि कुटानी पिसानी मिल सहयोग गरिएको नगरपालिकाले गाउँभरिका महिलाले अन्न पिस्नका लागि उपयोग गर्न पाउने गरी मिलसमेत प्रदान गरेको नगरपालिका उपप्रमुख सुन्तला रोयाकाले बतताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्