तनहुँमा ई–पासपोर्ट वितरण



तनहुँ ।

जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट वितरण कार्य थालिएको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण कार्य थालेपछि सर्वसाधारणले काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले प्रशासनले शुरुमा हप्ताको ६ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा प्रवाह गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्याइएको बताउनुभयो । कार्यालयले दुई चरणमा पासपोर्ट ल्याएर वितरण गरिसकेको छ । कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण शुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा प्रवा गरिएको उहाँले बताउनुभयो । ‘कर्मचारीमा दक्षता अभिवृद्धिसंगै सेवाग्राही संख्या क्रमिकरूपमा बढाउँदै सेवा प्रवाह गर्न थालिएको छ ।’ –गैरेले भन्नुभयो ।

कर्मचारीको जनशक्ति बढाएर दुई वटा स्टेशनबाट सेवा प्रवाह गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । ई–पासपोर्ट लागू गर्नुअघि कार्यालयमा दैनिक ७० देखि ८० जनासम्म सेवाग्राहीलाई पासपोर्टको सेवा लिन आउने गरेका थिए । जनताले घरबाटै अनलाइनबाट फर्म भरेर प्रशासनमा आएर अन्य सेवा लिन सकून भन्ने उद्देश्यले अनलाइन प्रणालीको व्यवस्था गरे पनि सर्वसाधारणमा उक्त पहुँच पुग्न नसकेको सहायक प्रजिअ गैरेले बताउनुभयो ।

‘अझै पनि बिचौलियाको भर परेर काम गर्नुपर्ने अवस्था सेवाग्राहीहरुको रहेको छ, यसको न्यूनीकरण तथा निर्मूल गर्नका लागि यो प्रणाली लागू गरिएको हो,’ गैरेले भन्नुभयो । सेवाग्राहीसंग चर्को मूल्य लिने केही साइबर व्यवसायीलाई बोलाएर एक पटकलाई सम्झाएर छाडिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । काम गरिएको कुनै मूल्य निर्धारण नगरिए पनि साविकको पासपोर्ट फर्म भर्दा लिने शुल्क २ सय रुपियाँ लिएर काम गर्न साइबर व्यवसायीलाई आग्रह गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्