देशदौडाहामा ‘जाउँ है पोखरा’



हेटौंडा ।

आन्तरिक पर्यटन नै पर्यटन क्षेत्रको मूल आधार भन्ने मुल उद्देश्यसाथ पश्चिमाञ्चल होटल संघ पोखरा ‘जाउँ है पोखरा’ अभियान लिएर देशदौडाहाका क्रममा हेटौंडा आएको छ । संघले दुई दशक अघिदेखि हरेक नेपाली नयाँ वर्षको अवसर छोपेर आन्तरिक पर्यटकलाई निमन्त्रणा गर्न विशेष छुटसाथ अभियान सञ्चालन गर्दै आएको हो ।

अभियानकै क्रममा हेटौंडाका उद्योगी, व्यवसायी तथा यातायातकर्मीलाई मंगलबार अभियानबारे जानकारी गराइएको छ । द्वन्द्वले सिंगो नेपाल प्रभावित हुँदै गर्दा पर्यटनका लागि केही गर्नुपर्छ भन्ने मान्यतानुरूप ‘जाउँ है पोखरा’ अभियान शुरु गरिएको थियो । उक्त अभियान सिंगो नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा नमुना कार्यक्रम हो । यसलाई थप तीव्रता प्रदान गर्न सरकारले आफ्ना कर्मचारीलाई पैसा दिएर घुम्न जाउँ भन्ने ‘पेड होलिडे’ जस्ता कार्यक्रम शुरु गर्नु जरुरी भएको सुझाव राखिएको थियो ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र सुस्ताएको भन्दै उहाँहरुले पोखरा घुम्न आग्रह गर्दै हेटौंडामा व्यवसायीसँग अन्तक्र्रिया गर्नुभएको छ । होटल संघ पोखराले गरेको ‘जाउँ है पोखरा’ अभियानका कारण आन्तरिक पर्यटन वृद्धि भए पनि कोरोनाका कारण पर्यटन क्षेत्र जोखिममा परेको निष्कर्ष निकाल्दै उहाँहरु पोखरा घुम्ने निम्तो दिन देशका विभिन्न शहर पुगिरहनुभएको छ ।

अन्तक्र्रियामा होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धन र अभियानबारे जानकारी गराउन वीरगन्ज, हेटौंडा, बुटवल र चितवनको भ्रमण गरिएको र ती क्षेत्रबाट पोखरा घुम्ने चुल्हे निम्तो दिन आएको बताउनुभयो ।

‘महिनौंको लकडाउनले व्यवसाय बन्द भएर थुप्रै व्यवसायी पलायन हुन पुगेका छन् । १० वर्षे आन्तरिक द्वन्द्व र भूकम्पको समयमा समेत नेपाली पर्यटन यति डरलाग्दोरूपमा प्रभावित भएको थिएन’, उहाँले थप्नुभयो– ‘व्यावसायिकजगत्मा आशा जगाउँदै सुस्ताएको आन्तरिक पर्यटन पुनरूत्थान गर्ने मुख्य उद्देश्यले पोखरा घुम्ने निम्तो बोकेर शहरहरुमा पुगिरहेका छौं ।’

‘जाउँ है पोखरा’ संयोजक विकल तुलाचनका अनुसार जनकपुर, धनगढी, सिमरा, नेपालगन्ज र भैरहवाबाट पोखरा हवाईसेवा जोडिएका कारण पर्यटन क्षेत्र थप चलायमान हुने विश्वास लिइएको छ । होटल एसोसिएसन मकवानपुर अध्यक्ष शंकरलाल श्रेष्ठले नेपाल सरकारले विद्युत्लगायत क्षेत्रमा प्रदान गरेको सुविधा साना होटलको पहुँचमा नपुगेको गुनासो गर्नुभयो । साना होटलहरु बढी चपेटामा परेको अवस्थामा ठू्ला होटलले मात्र सुविधा उपयोग गर्नु अन्यायपूर्ण भएको उहाँको भनाइ थियो ।

मकवानपुर उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले पोखरामा आन्तरिक पर्यटक भित्र्याउन पोखरासम्मको आन्तरिक हवाई उडान सञ्चालन आवश्यक रहेको बताउनुभयो । कोरोनाको पहिलो, दोस्रो र तेस्रो भेरियन्टबाट सबभन्दा बढी मारमा परेको क्षेत्र होटल रहेकाले यस्ता क्षेत्रका व्यवसायीलाई विशेष सुविधा प्रदान गर्न राज्यसँग माग गर्नुभएको थियो ।

संघ पूर्वअध्यक्ष विमल तुलाचन, संघ पूर्वअध्यक्ष हरिहर गैरे, बच्चुराम तिवारी, पुरानो नारायणी संघ महासचिव सरोज खनाल, उद्योग संघ मकवानपुर अध्यक्ष स्वागतराज प्याकुरेललगायले अभियानमा समर्थन जनाउनुभयो । बढीभन्दा बढी पर्यटकलाई आकर्षिक गर्न सडक र हवाई सेवा जस्ता पक्षलाई सरकारले बढी ध्यान दिनुपर्ने सुझाव उहाँहरुले दिनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले सरकारको मात्र भर नपरी आफूले पनि केही गर्नुपर्छ भन्ने मान्यताअनुरूप अगाडि बढिरहेको भन्दै उहाँहरुले पर्यटनमा पछिल्लो क्रममा युवाहरुमा घुम्ने बानी बढेको र समग्र पर्यटनले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्