झोलामा भेटिएको शवको पहिचान



विराटनगर ।

हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर जंगलमा फ्यालिएको शवको एक सातापछि पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देल रहेको पुष्टि भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डमा उनको लास भेटिएको थियो । प्रारम्भिक अनुसन्धानबाट सिग्देलको पुरानो घर इलामको बाँझोमा रहेको खुलेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताउनुभयो । सिग्देल परिवार केही वर्षअघि मात्रै दमकमा बसाइँ सरेर आएको पत्ता लागेको छ । प्रहरीका अनुसार हत्या गरिएका सिग्देल वैदेशिक रोजगारीका लागि बहराइन पुगेर नेपाल फर्किएका थिए ।

उनको हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । हत्यामा उनकै परिवारका सदस्यको संलग्नता रहेको बताइएको छ । घटनामा अरूको पनि संलग्नता रहेको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको प्रहरी स्रोतले बतायो । सिग्देलको हत्या कहिले भएको थियो भन्ने यकिन हुन बाँकी छ । तर, मोरङमा हत्या गरेपछि शरीरलाई टुक्रा–टुक्रा बनाउँदै जेब्रा झोलामा राखेर शवलाई धरानको जंगलमा पुर्याएर फ्यालेको पाइएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उहाँले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाउनुभएन । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप प्रमाण संकलनको काम भइरहेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ तथा संघीय प्रहरी इकाइ कार्यालय धरान र प्रदेश–१ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोली खटिएको थियो । हत्यामा संलग्नलाई मोरङबाट पक्राउ गरेर सुनसरी लगेको बताइए पनि प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन ।

प्रहरीका अनुसार हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै अलग–अलग जेब्रा झोलामा प्याक गरेर फ्यालिएको अवस्थामा गत बुधबार र बिहीबार पुरुषको शव भेटिएको हो । घाँटीभन्दा माथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार भेटिएको थियो । भोलिपल्ट अर्थात् बिहीबार करिब १ किलोमिटरमाथि जिउ र अन्य अंगहरु प्याक गरिएको अर्को झोला पनि भेटिएको थियो ।

कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा अलग–अलग जेब्रा झोलामा शवका टुक्रा भेटिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान अघि बढाएको थियो । ‘निक्कै मेहिनत गरेर शवको सनाखत गर्न सफल भइयो’, प्रहरी स्रोतले भन्यो– ‘हत्यामा संलग्न दुई जनालाई पनि पक्राउ गरिसकिएको छ ।’ प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्